इपीएलमा आज राति दुई खेल हुँदै

मंसिर १७, २०८२ |खेल ब्युरो
इपीएलमा आज राति दुई खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग-इपीएलमा गत सप्ताहान्त एक-एक गोलको बराबरी खेलेपछि बुधबार दुई टिमको जितको लक्ष्यसहित प्रिमियर लिगमा फर्कँदैछन्। 

बुधबार राति सवा एक बजे आर्सनलले ब्रेन्टर्फडसँग खेल्नेछ भने २ बजे हुने खेलमा चेल्सीले लिड्स युनाइटेडको भ्रमण गर्नेछ। ३० अंकसहित शीर्षस्थानमा पकड बनाएको आर्सनल चेल्सीभन्दा स्पष्ट ६ अंकले अघि रहेको छ। उसले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई पनि अंकका हिसाबले दबाबमा राखेको छ। तर गएरातिको खेलमा सिटीले जित हात पारेपछि चेल्सी दोस्रो स्थानको टिमभन्दा चार अंकले पछि परिसकेको छ। 

त्यसैले सिटीको पछिल्लो विजयी लयका कारण आर्सनल र चेल्सी दुवै टिम आफ्नो जितलाई ध्यानमा राखेर मैदान प्रवेश गर्नुपर्ने छ। अघिल्लो खेलमा रातो कार्ड पाएको कारण चेल्सीका मोइसे काइसेडोले बुधबार लिड्ससँगको खेल गुमाउनेछन्। अंक तालिकाको पुछारतिर संघर्ष गरिरहेको लिड्स युनाइटेड पनि पुनरागमनको योजनामा छ। 

यता पछिल्लो खेलहरूमा टोटेनह्याम, बार्यन म्युनिख र उपाधिकै लागि खेलिरहेको चेल्सीसँग लगातार तीन हेभिवेट खेलपछि आर्सनलका खेलाडीमा थकान बढेको छ। तर उसले घरेलु मैदानमा पछिल्ला १० खेलमा नौ खेल जितेर राम्रो फर्ममा रहेको संकेत गरेको छ। यसले आर्सनललाई आत्मविश्वास बढाउने छ। लिगको १२औं स्थानको ब्रेन्टर्फडले लिगलिडर टिमलाई समेत स्तब्ध पार्ने क्षमता भएको कारण आर्सनलाई पनि यो खेल सहज हुने छैन्।

सलिबा र ग्याब्रिएल म्यागालेहसको चोटले मिकेल आर्टेटालाई चिन्ता थपिएको छ। यसैगरी बुधबार अग्रपंतिका मुख्य खेलाडी लियान्द्रो ट्रोसार्डको मांशपेशीको चोट र काई हभाट्सले चोटले उसलाई टिम सेटअपमा सहज हुनेछैन्। रातिको खेलमा खराब लयमा रहेको लिभरपुलले सन्डरल्यान्डको सामना गर्नेछ। 

समर विन्डोमा ठूलो रकम खर्चिएर टिम निर्माण गरेको भए पनि प्रशिक्षक आर्ने स्लटको टोलीले अहिले आफ्नो लय समाउन सकेको छैन्। लिगको सुरूआतका केही खेलमा लगातार जित निकाले पनि उसले ६ खेलमा हार ब्यहोरिसकेको छ। त्यसैले लिभरपुल अहिले मिडिले टेबलमा सीमित छ। यी खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीमा हेर्न सकिनेछ।