
काभ्रे । जिल्लाको पनौती नगरपालिका-७ स्थित रङ्गशालामा साेमबारबाट पनौती नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता औपचारिक रूपमा सुरू गरिएको छ।
प्रतियोगिता मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन हुने बताइएको छ। यसवर्ष प्रतियोगितामा ४ सय ९ खेल, १ हजार १ सय ३९ विद्यार्थी तथा ३९ विद्यालयको सहभागिता रहेको नगरपालिका शिक्षा शाखाले जनाएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराले २०८१ सालमा जस्तै यसपटक पनि पनौतीले जिल्लामै पहिलो स्थान कायम राख्दै अब प्रदेश र राष्ट्रमै उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले खेलकुदलाई नगरपालिकाले प्रतिभा पहिचान र विकासको आधार मान्दै अभिभावकको भूमिकामा रहेर निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी नगर प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले अघिल्लो वर्षजस्तै यस वर्ष पनि नगरले प्राथमिकताका साथ तयारी गरेको भन्दै पनौतीले पुनः उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा एनसीसीको मार्च पास, तेक्वान्दो डेमो सेसन तथा राष्ट्रपति रनिङशिल्ड प्रदर्शनी समेत गरिएको थियो।