
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपले सदस्य-सचिव टंकलाल घिसिङलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेको छ ।
२०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य-सचिव घिसिङलाई चार वर्षे कार्यकाल पूरा गरेकोमा बिदाइ गरिएको हो । सो अवसरमा राखेपका बोर्ड सदस्य अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसरीलाई पनि बिदाइ गरिएको थियो । साथै मिसन- २०२६ मा रहेका खेलाडी र प्रशिक्षकलाई पनि किट्स वितरण गरिएको थियो ।
सदस्य-सचिव घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेल संघलगायतले प्रशंसा पत्र हस्तान्तरण गरेका थिए । सदस्य-सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालमा अभूदपूर्व सफलता हासिल गर्न सहयोग गरेकोमा खेलाडीलाई धन्यवाद दिए ।
त्यसअघि युवा तथा खेलकुद मन्त्रालयले राखेपका सदस्य-सचिव घिसिङलाई बिदाइ गरेको थियो । राखेपका अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले सदस्य-सचिव टंकलाल घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरे । सो अवसरमा सदस्य-सचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरेका थिए ।