आन्दोलनको साढे दुई महिनापछि सरकार र जेन-जीबीच लिखित सम्झौताको अन्तिम तयारी

मंसिर १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
आन्दोलनको साढे दुई महिनापछि सरकार र जेन-जीबीच लिखित सम्झौताको अन्तिम तयारी

काठमाडौं । सरकार र जेन-जी समूहबीच आन्दोलनका उपलब्धि संस्थागत गर्न सोमबारसम्म सम्झौता गर्ने तयारी भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेन-जीका अगुवालाई सिंहदरबारमा बोलाएर उनीहरूले बुझाएको ११ बुँदे सम्झौताको मस्यौदामाथि छलफल गर्नुभएको हो । छलफलमा प्रधामन्त्री कार्कीले अब धेरै दिन कुर्न नसकिने भन्दै सोमबारसम्म अन्तिम रूप दिन निर्देशन दिनुभयो ।

सम्झौता राजनीतिक दस्तावेज भएकोले त्यसको जिम्मेवारी मन्त्रिपरिषद्ले लिने आश्वासन दिँदै प्रधामन्त्री कार्कीले हस्ताक्षर गरेकै कारण केही बेहोर्नुपरे आफूले नै ब्यहोर्ने पनि स्पष्ट पार्नुभयो । मस्यौदालाई अन्तिम रूप दिने भन्दै शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्याल र खेलकुदमन्त्री बब्लु गुप्तासहित भएको छलफलमा सहमति जुट्न भने सकेन । 

जेन-जी प्रतिनिधिले भदौ २३ र २४ गतेको विद्रोहलाई जनआन्दोलनका रूपमा स्वीकार गर्नुपर्ने, आन्दोलनका घटनामा संलग्नलाई अभियोजन गर्न नहुने र सरकारले गरेको दमको छानबिन र कारवाही हुनुपर्ने लगायतका माग राखेका छन् । जेन-जीले बनाएको सम्झौताको मस्यौदामा गत कात्तिक २८ गते पनि छलफल भएको थियो । तर दुई पक्षबीच कुरा मिल्न सकेको छैन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.