.png&w=1000&height=550)
काठमाडौं । एनपीएलमै शुक्रबार हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् ।
टीयू क्रिकेट मैदानमै यो खेल दिउँसो ४ बजे सुरू हुनेछ । आफूलाई प्लेअफ दौडमा कायमै राख्न कर्णालीलाई यो खेलमा जित हात पार्न आवस्यक छ भने विराटनगर किंग्स सहज जितसहित लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । यो खेल जिते विराटनगर प्लेअफ नजिक पुग्ने छ ।
कर्णालीका लागि मार्क वाटले सर्वाधिक १ सय ४७ रन बनाएका छन् । उनी जारी लिगका दोस्रो सर्वाधिक रनकर्ता समेत हुन् । कप्तान सोमपाल कामीले ६ विकेट लिएका छन् । अघिल्लो खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो । सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा कर्णालीले सुरूवातमै ३ विकेट गुमाएको थियो । पवन सर्राफले केही संघर्ष गरे पनि कर्णाली ९४ रनमै समेटिएको थियो । लोकश बमले विराटनगरका लागि १ सय २१ रन बनाएका छन् । प्रतियोगिताकै शीर्ष विकेट टेकर कप्तान सन्दीप लामिछाने उत्कृष्ट फर्ममा छन् ।
उनले ९ विकेट हात पारिसकेका छन् । अघिल्लो खेलमा विराटनगरले चितवन राइनोजसँग ४८ रनको हार बेहोरेको थियो । रञ्जित कुमारको ५ विकेट हात पारेपछि विराटनगरको इनिङ धरापमा परेको थियो । यस हारले उसको विजयी यात्रामा पूर्णविराम लागेको थियो ।
विराटनगर किंग्स ३ जित र १ हारसहित ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । कर्णाली याक्स १ जित र २ हारसहित २ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ ।