
काठमाडौं । नेपाल एसीसी अन्डर नाइन्टिन पुरुष प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। आज साँझ सम्पन्न समूह चणको अन्तिम खेलमा हङकङमाथि १ सय १९ रनको फराकिलो जित हासिल गरेर नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङ १ सय ५१ रनमा अलआउट भएपछि नेपालले शानदार जित हात पारेको हो । डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालको जितमा अपराजित पौडेलले चार विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । नेपाली टिमका ओपनर निरजकुमार यादवले २२ रन बनाए भने वंश क्षेत्रीले २४ रनको योगदान गर्न सके । तर तेस्रो नम्बरका निश्चल क्षेत्री तीन रनमा नै आउट भए। सिब्रिन श्रेष्ठले दिलसाद अलीसँग ४८ रनको साझेदारी गरेका थिए । २७औं ओभरमा सिब्रिन २५ रन र ३१ औं ओभरमा दिलसाद ३२ रन बनाएर आउट भए । रोशन विश्वकर्मा पनि २१ रनमा आउट भए । यतिबेला नेपालले ३६ ओभर पाँच बलमा एक सय ६२ रन बनाएको थियो । तर सातौं विकेटका लागि अशोक धामीले दर्श सोनारसँग १ सय ८ रनको साझेदारी गरेका थिए । दर्श सोनार ४५ रनमा अविजित रहे। तर अशोक धामीले ७३ रनको विस्फोटक पारी खेल्यो । उनले ५१ बलमा तीन चौका र चार छक्कासहित ७३ रन बनाएका हुन् । हङकङका डानियल म्याप र अभिमन्यु गणेशनले समान दुई-दुई विकेट लिएका थिए। जवाफमा हङकङले विकेट टिकाएर खेल्नै संघर्ष गर्दा ४० ओभर पाँच बलमा नै अलआउट भएको हो । उसका ओपनर जेडे लि २२, रेयान्स शर्मा १८ र शिव माथुर ३० रनमा आउट भएका थिए । अब्लुललाई अपराजितले १९ रन बनाएको अवस्थामा कट एन्ड बोल्ड गरे। उनले मध्यक्रमका चार विकेट लिएपछि नेपालले फराकिलो जित सुनिश्चित गरेको हो ।
अब नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्ने भएको छ। आजै भएको अर्को खेलमा मलेसियाले इरानलाई ८ विकेटले हराएको थियो । अर्को सेमिफाइनलमा ओमानले यूएईसँग खेल्नेछ।