एनपीएल : जनकपुरका खेलाडीले आमाको नाम लेखिएको जर्सीमा खेल्ने

मंसिर १०, २०८२ |खेल ब्युरो
एनपीएल : जनकपुरका खेलाडीले आमाको नाम लेखिएको जर्सीमा खेल्ने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलमा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ । 

जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरूद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आ-आफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आमाको सम्मानमा उक्त जर्सी लगाउने निर्णय भएको हो ।”

बिहीबार पनि उक्त जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अक्सनमा राखिने जनाइएको छ । जर्सी बिक्रीबाट सङ्कलन भएको रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताउनुभयो । सुरूआती दुवै खेलमा पराजित भएको साविक विजेता जनकपुर बोल्ट्स बिहीबार भने पहिलो जितेको खोजीमा हुनेछ ।-रासस