.png&w=1000&height=550)
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल-२०२५ को १२औं खेलमा बुधबार तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किंग्सले पुनरागमनको प्रयासमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल दिउँसो ४ बजे हुनेछ । किंग्स अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् भने राइनोज दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । सुरूवाती तीनवटै खेल जितेर उत्कृष्ट लयमा रहेको विराटनगर किंग्सले आफ्नो पछिल्लो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो ।
पहिलो इनिङ्समा बसिर अहमद र शुभम रन्जनेको सम्मेमित इनिङ्सको सहयोगमा किंग्सले ७ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । सन्दीप लामिछानेको घातक बलिङ गर्दै मात्र ११ रन खर्च गरेर ४ विकेट लिएपछि बोल्ट्स ९ विकेट गुमाएर १ सय २३ रनमै रोकिएको थियो । लेग स्पिनर सन्दीपले सिजनको तीन खेलमै ७ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने बलरको सुचीमा शीर्ष स्थानमा छन् ।
तल्लोक्रममा आक्रमक ब्याटिङ गर्ने क्षमता भएकाले उनी गेम-चेंजर हुन सक्छन् । चितवन राइनोजको अभियान मिश्रित रहँदै आएको छ । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराए पनि दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । पहिलो ब्याटिङ गरेको राइनोजले ७ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । जुन लक्ष्य लायन्सले ९ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गरेको थियो ।
अनुभवी इंग्लिस अलराउन्डर रबि बोपाराले पहिलो दुई खेलमै १ सय १८ रन बनाइसकेका छन् । उनी शीर्ष रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । जसमा लगातार दुई अर्धशतक समावेश छन् । उनले एक विकेट समेत लिएका छन् । उनको अनुभवले राइनोजको पुनरागमनका लागि अत्यावस्यक हुन सक्छ ।
कीर्तिपुरको पिच प्रायः बलर-अनुकूल रहने मानिन्छ । तर, क्रिजमा केही समय जम्न सक्ने ब्याटरले राम्रो स्कोर पनि बनाउन सक्छन् । यस मैदानको पहिलो इनिङ्सको औसत स्कोर १ सय ६० रन रहेको छ । जुन आजको खेलमा अझ बढी हुनसक्ने अनुमान छ ।
गत सिजन विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको थियो । किंग्स ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । २ खेलमा २ अंक जोडेको राइनोज पाँचौं स्थानमा छ ।