चार देशका २१ विद्यार्थी ताप्लेजुङको हिमालयन हाब्रे सेन्टरमा दुर्लभ वन्यजन्तु संरक्षणको अध्ययन गर्दै

मंसिर १०, २०८२ |आनन्द गौतम
चार देशका २१ विद्यार्थी ताप्लेजुङको हिमालयन हाब्रे सेन्टरमा दुर्लभ वन्यजन्तु संरक्षणको अध्ययन गर्दै

ताप्लेजुङ । रेडपाण्डा नेटवर्कको सहयोगमा दुई वर्षअघि बनेको ताप्लेजुङको हिमालयन हाब्रे रिसर्च सेन्टरमा यतिबेला चार देशका २१ जना विद्यार्थी दुर्लभ वन्यजन्तु र वनस्पतिको अध्ययन गरिरहेका छन् । 

नेपाल, भारत, भुटान र बंगलादेशका यी विद्यार्थी कहिले गाउँबस्तीसम्म पुग्छन् त कहिले वन्यजन्तु हिँड्ने बाटो पहिल्याएर क्यामेरा ट्रयाप राख्ने गौँडा खोज्छन् । रिसर्च सेन्टरबाट फर्किएपछि उनीहरूले आफ्नो देशमा संरक्षणसम्बन्धी यस्तै गतिविधि गर्ने अपेक्षा गरिएको छ ।

सदरमुकाम फुङलिङबाट १० र सुकेटार बिमानस्थलवाट दुई किलोमिटर दुरीमा रहेको यो सुन्दर हिमालयन हाब्रे सेन्टर यस्तै अध्ययन गर्नेहरूलाई लक्षित गरेर बनाइएको हो । तापक्रम अनुकुलन गर्ने सेन्टरमा बसेर नयाँ-नयाँ विषयको अध्ययन गरिरहेको सहभागी बताउँछन् ।

इष्टर्न हिमालय रेन्जमा पर्ने नेपाल, भारत, भुटान बंगलादेशका फरक-फरक विषय पढिरहेका तर संरक्षणमा चासो भएकालाई यो कार्यक्रममा समेटिएको हो । यहाँ सहभागीहरू इन्जिजियर, इकोनोमिक्स, सोसियललगायतको विषयका विद्यार्थी हुन् । फरक बिधाबाट पनि संरक्षण सम्बन्धी कामकालागि दक्ष बनाउन यो कार्यक्रम आयोजना गरिएको हो ।

आयोजकले वन, वातावरणका विज्ञ, संरक्षणमा लागेका समुदायका अगुवा, पहिला शिकार खेलेका अहिले संरक्षणमा जुटेकाहरूसँग यी विद्यार्थीलाई भेटाइ दिन्छ र उनीहरूसँग सामुहिक छलफल गराइदिन्छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।