
काठमाडौं । सन् २०२६ मा हुने आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । भारत र श्रीलङ्कामा हुने आइसीसी टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ । सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ ।
नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन् । नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुई-दुई पटकका विश्व-विजेतासमेत हुन् । नेपालको पहिलो खेल आगमी फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रङ्गशालामा इङ्ग्ल्यान्डसँग हुनेछ ।
यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बङ्गलादेशसँग हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही साताअघि आइसीसी अध्यक्ष जय शाहलाई भारतको नयाँदिल्लीमा भेटेर नेपालका खेलहरू भारतमा राखिदिन आग्रहसमेत गर्नुभएको थियो ।
उक्त आग्रहलाई स्वीकार गर्दै नेपालका सबै खेल भारतमा राखिएका अध्यक्ष चन्दले बताउनुभयो । योसँगै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।-रासस