.png&w=1000&height=550)
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल २०२५ को ११औं खेलमा मंगलबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन् ।
कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा खेल दिउँसो ४ बजे सुरू हुने छ । दुवै टोली आफ्नो पछिल्लो खेलमा पराजित भएकाले यस खेलबाट पुनरागमन गर्ने लक्ष्यमा रहने छन् । पछिल्ला दुई खेलमा पराजित गोर्खाजका लागी बेन चाल्सवर्थले सर्वाधिक रन बनाएका छन् भने बलिङतर्फ कप्तान करण केसीले ६ विकेट लिएर उत्कृष्ट फर्ममा छन् ।
पछिल्लो खेलमा गोर्खाज विराटनगर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको टिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन मात्रै जोडेको थियो । शीर्ष क्रम पिचमा टिक्न नसक्दा मध्यम क्रममाथि दबाब बढेको थियो । तर अन्त्यतिर महोम्मद आदिलद आलमले २५ बलमा ४८ रन प्रहार गर्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए ।
जवाफमा बिराटनगरले १८औं ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । सिजनको उद्धघाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको गोर्खाज आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । यस खेलमा गोर्खाजका लागि आकाश त्रिपाठी र बेन चाल्सवर्थले राम्रो सुरूवात दिलाउनु आवस्यक छ ।
मध्यक्रममा रिकार्डो भास्को नेसेलोस र जेरहार्ड एरस्मस छन । जोन सिम्पसन र आदिल आलमले ब्याटिङमा गहिराइ थप्छन् । बलिङमा करण केसी र रशिद खानले पेस आक्रमण सम्हाल्छन् । एरस्मस, सन्तोष यादव र शहाब आलमले स्पिन विभाग बलियो बनाएका छन् ।
लुम्बिनी लायन्स पछिल्लो खेलमा कर्णाली याक्ससँग ९ विकेटले स्तब्ध भएको थियो । पहिले ब्याटिङ गर्दै लुम्बिनीले ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । तर जवाफी ब्याटिङमा कर्णालीका मार्क वाटले ४४ बलमा ११४ रन प्रहार गरेपछि १३औं ओभरमै ९ विकेटको जित हात पारेको थियो ।
लुम्बिनीका लागी कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाएका छन् भने बलिङतर्फ रूबेन ट्रम्पलम्यानले ३ विकेट लिएका छन् । लुम्बिनीका लागि शीर्षक्रममा डर्सी सर्टले अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । सन्दीप जोरा भने राम्रो लयमा छन् । मध्यक्रमका मुख्य आधार रोहित पौडेल बनेका छन् । उनलाई जे स्मित र गुलबदीन नाइबले साथ दिनु आवस्यक छ ।
बलिङमा ट्रम्पलम्या, नाइब र स्मितले पेस र शेर मल्ल, सर्ट र रोहितले स्पिन बलिङको जिम्मेवारी लिनु पर्ने छ । तुलनात्मक रूपमा लुम्बिनीको बलिङ आक्रमण केही कमजोर देखिएको छ । ३ खेलमा १ जितसहित २ अंक जोडेको गोर्खाज तालिकाको तेस्रो स्थानमा छ भने २ खेलमा १ जितसहित २ अंक जोडेको लुम्बिनी चौंथो स्थानमा छ ।