राखेपकाे २१औं सदस्य सचिव नियुक्तिका लागि मंसिर १४ गतेबाट काम थालिने

मंसिर ९, २०८२ |खेल ब्युरो
राखेपकाे २१औं सदस्य सचिव नियुक्तिका लागि मंसिर १४ गतेबाट काम थालिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपकाे २१औं सदस्य सचिव नियुक्तिका लागि मंसिर १४ गतेबाट मात्रै युवा तथा खेलकुद मन्त्रालयले काम थाल्ने भएको छ। 

१०औं राष्ट्रिय खेलकुद आउन ८० दिन मात्रै बाँकी छ। यद्यपि मन्त्रालयले भने प्रक्रियागत रूपले १४ गतेबाट काम थाल्ने बताएको हो। परिषद्का वर्तमान सदस्य सचिव टंकलाल घिसिङको कार्यकाल मंसिर १२ गते सकिँदै छ। उनी २०७८ मंसिर १३ गते नियुक्त भएर अहिलेसम्म काम गरिरहेका छन्। 

अब कार्यकाल सकिए पछि मात्रै नयाँ नियुक्तिको विषयतर्फ अघि बढ्ने मन्त्रालयका सदस्य सचिव हरी प्रसाद लम्सालले जानकारी दिएका छन्। गत कार्तिक १९ गते बसेको राखेपको १२३ बोर्ड बैठकले एक सय दिनको म्याद राखेर आगामी १०औं राष्ट्रिय खेलकुद फागुन पहिलो हप्ता आयोजना गर्ने निर्णय गरेको छ। 

कर्णाली प्रदेशले पनि आयोजनाको जिम्मेवारी लिइ नसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् प्रमुख आयोजकका रूपमा रहेको छ। पछिल्लो पटक एक जना सदस्य सचिव बाहिरिएपछि घिसिङलाई नियुक्त गर्न एक महिना १० दिन लागेको थियो। अहिले १०औं राष्ट्रिय खेलकुद आउन ८० दिन बाँकी रहँदा यो पद खाली रहे नेपाली आगामी राष्ट्रिय खेलकुदको तयारीमा असर गर्नेछ। 

सदस्य सचिव नभएर खेलाडी खेलकुद प्रशासनको सबै काम रोकिन्छन्। वर्तमान सदस्य सचिवको मिति लम्ब्याउने व्यवस्था नभएको कारण नयाँ नियुक्त गर्नुपर्ने हुन्छ। त्यसका लागि ३५ दिने सूचनामार्फत दरखास्त आह्वान गरेर मन्त्रालयले छनोट प्रक्रिया सुरू गर्नुपर्ने हुन्छ। 

फास्ट ट्रयाकमा काम गरे पनि एक महिना लाग्ने खेलकुदबारे जानकार व्यक्तिहरूले बताउने गरेका छन्। यस्तोमा १०औं राष्ट्रिय खेलकुदको आयोजनामा असर त पर्दैन भन्ने प्रश्न उठेको छ। तर सदस्य सचिवको पद रिक्त हुनुभन्दा यति समय अघिबाट नियुक्तिको प्रक्रिया थाल्नुपर्ने भन्ने कुनै व्यवस्था भने छैन्।