
रौतहट । रौतहट जिल्लाको वृन्दावन नगरपालिका-९ भुसाहामा परिवारकै सदस्यहरूले विभत्स ढंगले एक महिलाको हत्या गरेको घटना बाहिरिएको छ।
भुसाहाका शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो। घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय गरूडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरीक्षक रबिन कार्कीले जानकारी दिनुभयो ।
मृतक खातुनका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा एक महिना पहिले साउदी अरब गएका हुन्। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदले मृतक खातुनकी डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेका छन् ।
घटनास्थलबाट प्रहरीले खाल्डो खन्न प्रयोग भएको कुदालो समेत बरामद भएको प्रहरीले जनाएको छ। खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ भने फरार परिवारजनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।