एनपीएल अवैध सट्टेबाजीमा दुई करोड भन्दा बढीको कारोबार, १० जना पक्राउ : नेपाल प्रहरी

मंसिर ८, २०८२ |खेल ब्युरो
एनपीएल अवैध सट्टेबाजीमा दुई करोड भन्दा बढीको कारोबार, १० जना पक्राउ : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रूपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको बताएको छ ।

काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरूद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ गरिएकाे जानकारी दिनुभयो । 

अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिब दुई करोड पाँच लाख रूपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेका प्रहरी उपरीक्षक भट्टराईले बताउनु भयोे । उहाँले स्टेक डटकम, बेडबुक डटकमलगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएकोे बताउनु भयो ।

नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।