नेपाली राष्ट्रिय महिला फुटबल टिम अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजका लागि इन्डोनेसिया प्रस्थान

चोटका कारण स्टार फरवार्ड सावित्रा अनुपस्थित एन्जीला कप्तान
मंसिर ७, २०८२ |खेल ब्युरो
नेपाली राष्ट्रिय महिला फुटबल टिम अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजका लागि इन्डोनेसिया प्रस्थान

काठमाडौं । स्टार फरवार्ड सावित्रा भन्डारीबिना नेपाली राष्ट्रिय महिला फुटबल टिम अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजका लागि इन्डोनेसिया प्रस्थान गरेको छ ।

नियमित कप्तान सावित्रा स्क्वाडमा रहे पनि, चोटका कारण अन्तिम समयमा उनी टिमसँग नरहेको मुख्य प्रशिक्षक नविन न्यौपानेले जानकारी दिए । अहिले अष्ट्रेलियमा रहेको सावित्राको अनुपस्थितिमा एन्जीला तुम्वापो सुब्बाले कप्तानको भुमिका निभाउने छिन् । 

भिसाको कारण सावित्राको स्थानमा अर्को खेलाडी लगिएको छैन् । प्रिती राई भने उपलब्ध छिन् । सविता राना मगर पनि चोटग्रस्त रहेकाले खेल्ने नखेल्नेमा शंका रहेको प्रशिक्षक न्यौपानेले बताए । डिफेन्डर गीता रानाले पुर्ण रूपमा फिट नभएपछि यो सिरिज पनि गुमाएकी छन् । 

अखिल नेपाल फुटवल संघ-एन्फाले आइतबार सिरिज खेल्न जाने खेलाडीको बिदाइ गरेको थियो । नेपालले गत अक्टोबर अन्तिममा भारत, इरान सम्मिलित अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिज खेलेको थियो । इरानसँग ३-० गोलले पराजित भएको नेपालले भारतलाई भने २-० गोलले हराएको थियो । त्यहाँबाट फर्किएपछि टिमका अधिकांश खेलाडीले झापा गोल्डकप खेलेका थिए । 

आगामी बुधबारबाट सुरू हुने सिरिजमा घरेलु टिम इन्डोनेसिया र चाइनिज ताइपेइ छन् । नेपालले आफ्नो पहिलो खेल बुधबारनै इन्डोनेसियासँग खेल्नेछ । मंसिर १६ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपालले यी सबै अन्त्राष्ट्रिय खेल साफ च्याम्पियनसिपको तयारीका लागि खेलेको हो ।