
काठमाडौं । इंग्लिस प्रिमियर लिग-इपीएलमा शनिबार सात खेल आयोजना हुँदैछन्।
२२ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले राति सवा ११ बजे हुने खेलमा न्यूक्यासलको सामना गर्नेछ। लिगमा कमजोर सुरूआतका बाबजुद पनि पुनरागमन गरेको सिटी शीर्ष स्थानको आर्सनलभन्दा चार अंकले मात्रै पछि रहेको छ।
लिगमा लगातार पराजित भएपछि पछिल्लो अन्तर्राष्ट्रिय ब्रेकमा न्यूकासललाई उत्कृष्ट रणनीति बनाएर मैदानमा फर्किने अवसर मिलेको छ। दुई हप्ताअघिको वेस्टह्याम र ब्रेन्टफर्डसँगको हारको उसले अहिले समीक्षा गरेर आउनु पर्ने छ। तर अहिले सेंट जेम्स पार्कमा फर्किनु न्यूकासलका लागि राहतको विषय हो।
क्लबले पछिल्ला पाँच घरेलु खेलमा सबै प्रतियोगितामा जित हात पारेको छ, जसमा प्रत्येक खेलमा कम्तिमा दुई गोल गरेको छ। यता पेप ग्वार्डिओलाको टोलीले पछिल्ला प्रिमियर लिगका ८ मध्ये ६ खेल जितेको छ। सिटीले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई ३-० ले हराउँदै आफूले पुनरागमन गरेको सन्देश दिएको थियो। ग्वार्डिवालाको एक हजारौं खेलमा आएको यो जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
सिटीले यस सिजन घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको छ। तर अवे मैदानमा उसको प्रदर्शन खासै छैन्। यही नतिजालाई मनोबल बनाएर खेल्ने हो भने न्यूकासलले शनिबार सिटीलाई हराउन सक्नेछ। सिटीले प्रिमियर लिगमा न्यूकासलविरूद्ध १२ अवे जित निकालिसकेको छ। यो कुनै एउटै क्लबविरूद्ध सिटिको संयुक्त सर्वाधिक अवे जितसमेत हो।
गत सिजन शीर्ष पाँचमा रहेर लिग समाप्त गरेको न्यूकासलले यस सिजन ११ खेलमा मात्र तीन जित निकाल्नुले उसको जितको लय गुमेको देखिन्छ। र, न्यूकासल रेलिगेशन जोनभन्दा मात्र दुई अंकले माथि छ। मुख्य प्रशिक्षक एडी हाउका अनुसार यदि न्यूकासलले यस सिजन शीर्ष पाँचमा प्रतिस्पर्धा गर्न चाहन्छ भने हारको शृंखला रोक्नै पर्छ।
यसैगरी आज राति पौने ११ बजे हुने खेलमा लिभरपुलले नटिङ्घम फरेस्टको सामना गर्नेछ। पछिल्ला पाँच खेलमध्ये एक खेल मात्रै जितेको लिभरपुल यो अन्तर्राष्ट्रिय विन्डोपछि पनि फर्ममा नफर्किने हो भने उसको शीर्ष स्थान मात्रै होइन शीर्ष चार स्थान पनि खतरामा पर्न सक्ने सम्भावना बढ्नेछ।
लिगमा आठौं स्थानमा रहेको लिभरपुल शीर्षस्थानको आर्सनलभन्दा ८ अंकले पछि परिसकेको छ। सानदार सुरूआतका बाबजुद उसले अहिलेसम्म पाँच हारको सामना गरिसकेको छ। यसकारण यो सिजनको प्रिमियर लिगका उपाधि विजेले पनि ठूलो अंक नबनाउने देखिन थालेको छ। किनभने ११ चरणका खेल सकिँदासम्म कुनै टिम पनि अपराजित छैनन्।
चेल्सीले साँझ सवा ६ बजे बर्नलीको सामना गर्नेछ भने बर्नमथले वेस्टह्यामसँग, उल्भ्सले क्रिस्टल प्यालेससँग, ब्राइटनले ब्रेन्टर्फडसँग र फुलहामले सन्डरल्यान्डसँग खेल्ने तालिका छ। प्रिमियर लिगको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा हेर्न सकिनेछ।