पृथ्वी राजमार्ग भोलिदेखि दैनिक चार घन्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मंसिर ६, २०८२ |पोषनाथ अधिकारी
पृथ्वी राजमार्ग भोलिदेखि दैनिक चार घन्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

धादिङ । पृथ्वी राजमार्ग भोलि अर्थात् आइतबारदेखि दैनिक चार घन्टा बन्द हुने भएको छ। 

शनिबार पहिलो दिन भने दिउँसो १ बजेदेखि दुई बजेसम्म एक घन्टा सडक बन्द गरी काम गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मुग्लिङ-पोखरा सडक विस्तार कार्यअन्तर्गत पोखरा खण्डमा पर्ने विजयपुर-खोलामा निर्माणाधीन पुलको 'ग्रीडर लन्चिङ' कार्य सुरू भएकाले भोलि अर्थात् आइतबारदेखि दैनिक चार घन्टा बन्द हुन लागेको हो। 

आयोजनाको पश्चिम खण्डले एक सूचना जारी गर्दै निर्माणाधीन पुलमा 'गर्डर लन्चिङ' गर्नुपर्ने भएकाले आगामी ६ दिनसम्म निश्चित समयका लागि सडक बन्द गरिने जनाएको हो। मुग्लिन-पोखरा सडक योजना पश्चिम खण्डले निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म चाउथेदेखि विजयपुर हुँदै तालचोक चल्ने सवारी साधनहरू रोकेर सहजीकरणका लागि अनुरोध गरेको थियो। 

आइतबारदेखि मङसिर ११ गतेसम्म भने बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द हुने जनाएको छ। आयोजना प्रमुख कृष्ण बहादुर कुँवरद्वारा जारी सूचना अनुसार यसअघि मंसिर ६ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक दुई चरणमा गरी चार घन्टा सडक बन्द वा आंशिक रूपमा प्रभावित हुने बताइए पनि शनिबार पहिलो दिन एक घन्टा बन्द गरिएको हो । 

यद्यपि, यात्रुहरूको चाप र अवस्था हेरेर प्रत्येक ३० मिनेटमा लाइनमा रहेका सवारीसाधनलाई पास गराउने गरी लचिलो व्यवस्थापन अपनाइने आयोजनाले प्रष्ट पारेको छ। सडक पूर्ण-आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। 

दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढी-बजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी र ठूला सवारीका लागि लेखनाको पावरहाउस चोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रूट प्रयोग गर्न आग्रह गरिएको छ। मुग्लिन-पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो। 

जामुनेदेखी आबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकांश काम सकिए पनि पोखरादेखि जामुनेसम्मको पश्चिमखण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ। यस खण्डको ३८ दशमलव ८८ किमिमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ। 

त्यसमध्ये २९ दशमलव ६१ किमि खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ। यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको जनाएको छ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।