
कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले पार्टीलाई चलायमान बनाइराख्न राजनीतिक अभियानसँगसँगै कृषि उत्पादनलाई अघि बढाएको छ ।
यसरी हुने आयआर्जनले पार्टीलाई जीवन्त बनाइ नेता कार्यकर्ताको घर व्यवहार चलेर राजनीतिक उद्देश्य पूरा हुन सहयोग पुग्ने बताइएको छ । यो पार्टीले गत वर्ष 'नयाँ आर्थिक मार्ग' को नयाँ प्रस्ताव पारित गरेर कृषिलाई प्राथमिकता दिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव ५८ वर्षे नेत्रविक्रम चन्द अहिले अर्घाखाँचीको शीतगंगा नगरपालिकामा पार्टीले लगानी गरेर फलाएको आलु स्याहार्दै हुनुहुन्छ ।
उहाँकी ५३ वर्षीया श्रीमती सुभद्रा पनि पार्टीले कपिलवस्तुमा उत्पादन गरेको आलु हाटबजार चाहार्दै बेच्नुहुन्छ । १५ हजारको आलु बेचेर उहाँले पार्टी कोषमा जम्मा गर्नुभयो । माओवादी नेता कार्यकताहरू कहीँ धान स्यार्ने, कहीँ आलु लगाउने त कही अकबरे खोर्सानी टिपेर बजार पुर्याउने काममा तल्लिन छन् ।
हिउँदे बाली लगाउन खेतबारी खनजोत गरिहेका नेता कार्यकता पार्टी निर्वाचन आयोगमा दर्ता भएर चुनाव चिन्ह गुलाब पाएपछि उत्साहित बनेका छन् । गत वर्ष पार्टीले उत्पादन गरेको दुई लाख ९ हजार ५ सय केजी आलु बेचेर ४० लाखभन्दा बढी आम्दानी गरेको थियो ।
विनोद चौधरीको सिजी फुड कम्पनी चिप्स बनाउन दुई लाख किलो आलु खरिद गर्यो । गत वर्ष एक करोड २० लाख बराबरको आलु उत्पादन भएको थियो । कैलालीदेखि सिन्धुलीसम्म १२ जिल्लामा ५२ बिघामा आलु लगाइएको थियो । सिजी फुड्सले यस वर्ष ५ लाख केजी आलु माग गरेको छ ।
चार जिल्लामा एक सय रोपनीमा लगाइएको अकबरे खोर्सानी डेढ करोडभन्दा धेरैको उत्पादन हुने अनुमान छ । वाइवाइ चाउचाउ उद्योगबाट ६ सय क्विन्टल माग आएपछि अर्घाखाँची, नुवाकोट, चितवन र रोल्पामा अकबरे खोर्सानी लगाइएको हो । अहिलेसम्म उद्योगलाई १३ लाख ५० हजारको अकबरे खुर्सानी बेचिसकिएको छ ।
यो बर्खामा ४० जिल्लाका दुई सय बिघामा धान लगाइएको थियो । अहिले भित्र्याउने काम भइरहेको छ । मोटो मसिनो गरेर ६५ लाख रूपैयाँ भन्दा धेरैको दुई हजार क्विटल धान उत्पादन भएको बताइएको छ । गतवर्ष एक सय बिघामा एक हजार ५ सय क्विन्टल धान उत्पादन भएको थियो । पार्टीले जमिन लिज, भाडा र बन्धकी लिएर खेती गर्दै आएको छ ।
पार्टीले केन्द्रीय कार्यालय नजिक बालापुरमा १० लाख लगानीमा गार्मेन्ट उद्योग सञ्चालन गरेको छ । ०८१ असारदेखि ०८२ भदौसम्ममा यसले ४२ लाख रूपैयाँको कारोबार गरेको छ । त्यस्तै कपिलवस्तु, चितवन र दाङमा ६ बिघामा माछापालन गरेको छ । चितवनको शक्तीखोरमा ६० घार मौरीपालन, जुम्ला र कालीकोटमा १० हजार स्याउ रोपिएको छ भने कालीकोटमा भेडा फार्म छ ।
पुँजीपतिविरूद्ध विद्रोह गरौं भन्दै हिँड्ने चन्द अहिले वैचारिक रूपमा परिवर्तन भएर पार्टीले उत्पादन गरेका सामान बेच्दै हिड्नुले सकारात्मक सन्देश दिएको टिप्पणी हुने गरेको छ ।