
काठमाडौं । नेपाल महिला कबड्डी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
बंगलादेशको मिरपुरमा जारी विश्वकपअन्तर्गत समूह 'बी'मा शनिबार भएको खेलमा इरानसँग फराकिलो अन्तरले पराजित भएर नेपाल मेडल रेसबाट बाहिरिएको हो। नेपालले राउन्ड रोबिन शैलीमा भएको विश्वकपको समूह चरणमा पाँचमध्ये तीन खेलमात्रै जित्न सक्यो।
शनिबार भएको खेल सेमिफाइनलमा प्रवेशका लागि महत्वपूर्ण थियो। तर नेपाललाई ३९-११ ले हराउँदै इरान समूहमा दोस्रो भएर अन्तिम चारमा पुगेको हो। नेपाललाई आउट-प्ले गरेको इरानले पाँच मिनेटमा नै नेपाललाई अलआउट गराएका थिए। सुरूआतमा नै १४-१ को फराकिलो अग्रता बनाएको उसले पहिलो हाफमा २४-३ को सानदार अग्रता बनाएको थियो।
दोस्रो हाफमा रणनीतिक परिवर्तन गरेको नेपालले अन्तिममा अंक जोड्न प्रयास गरेको भए पनि अपेक्षित सफलता हात पार्न सकेन। अन्तत नेपाल ३९-११ ले पराजित भएर बाहिरिएको हो। समूहमा नेपाल चाइनिज ताइपेई र इरानसँग पराजित भएको थियो भने जन्जिबार, केन्या र पोल्यान्डलाई विशाल अन्तरले पराजित गरेको थियो।
यता समूह 'ए' बाट भारत र आयोजक बंगलादेशले विश्वकपको सेमिफाइनलमा स्थान बनाएका छन्। नेपाली टिम अब मंगलबार स्वदेश फर्किने तालिका छ।