एनपीएल : विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदै

मंसिर ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एनपीएल : विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एनपीएलअन्तर्गत शनिबार दिउँसो सवा तीन बजे हुने खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।

जारी प्रतियोगितामा गोर्खाज आफ्नो तेस्रो खेल खेल्दैछ । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्टस्‌लाई हराएको गोर्खाज सुदूरपश्चिम रोयल्ससँग २९ रनले हारेको थियो । सो हारलाई बिर्सिएर मोन्टी देसाइको प्रशिक्षणमा रहेको गोर्खाज लयमा फर्कने प्रयासमा छ । 

बेन चार्ल्सवर्थले गोर्खाजका लागि सबैभन्दा धेरै ५४ रन जोडेका छन् । जन सिम्पसनले ३४ र मिलिन्द कुमारले ३० रन प्रहार गरे । शनिबारको खेलमा घरेलु खेलाडी भीम सार्की र सन्तोषबाट लामो इनिङसको अपेक्षा गरिएको छ । सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दशमा भने गोर्खाजकै बलर छन् । मिलिन्द र कप्तान करण केसीले समान ५-५ विकेट लिएका छन् ।

विराटनगर भने पोखरा एभेन्जर्स माथि ५३ रनको फराकिलो जित हात पारेपछि उच्च मनोबलमा छ । सो खेलमा सन्दीप लामिछानेको टिमले कीर्तिमानी २ सय २० रन जोडेको थियो । जुन एनपीएलमा कुनै पनि टिमले बनाएको अहिलेसम्मकै उच्च रन हो । लोकेश बम र मार्टिन गप्टिल फर्ममा छन् । 

जर्ज मन्जीलाई रोक्न पनि गोर्खाजका बलरलाई सहज हुने छैन । विराटनगरसामु पहिलो सिजनमा बेहोरेको एक विकेटको हारको बदला लिने अवसर पनि छ । दुवै खेलको टिकट सोल्डआउट भइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.