
काठमाडौं । नेपाली राष्ट्रिय महिला कबड्डी टिमले बंगलादेशमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकपको तयारी सम्पन्न गरेको छ।
नेपाली टिमलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद् राखेपले बिदाइसमेत गरेको छ । पहिलो पटक गत जुनमा र त्यसपछि अगस्टमा भारतमा हुने भनिए पनि सो विश्वकप आयोजना हुन सकेको थिएन। त्यतिबेला नेपाली टिमले भारतमा नै बसेर एक महिनाको अभ्याससमेत गरेको थियो।
एसियाली खेलकुदका लागि समेत लामो अभ्यासमा रहेको नेपाली टोलीले यसपटक विश्वकपमा पदक जित्ने लक्ष्य राखेको छ। मंसिर १ देखि ८ गतेसम्म बंगलादेशको ढाकामा हुने विश्वकपका लागि नेपाली टिमे घरेलु मैदानमा भने विश्वकप तयारीका लागि पूवर्धार अभाव भएको थियो ।
१९औं एसियाली खेलकुद एसियाडमा पहिलो सहभागितामै ऐतिहासिक कास्य पदक र इरानमा भएको छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक हात पारेको नेपालले विश्वपकपमा पदक जित्ने लक्ष्य राखेको छ। १२ टिम सहभागी हुने प्रतियोगितामा भारत, इरान, बंगलादेश, नेपाल, थाइल्यान्ड र चाइनीज ताइपेईसहित एसियाबाट ६ टिम, अफ्रिकाबाट केन्या, युगान्डा र जाम्बिया र दक्षिण अमेरिकाबाट अर्जेन्टिना तथा युरोपबाट पोल्यान्ड र जर्मनी सहभागी हुने छन् ।
यसअघि महिला कबड्डी विश्वकप २०१२ मा भारतको पटनामा भएको थियो । त्यसयता दोस्रो संस्करण हुन १३ वर्ष लागेको छ । १२ टोलीले विश्वकप ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले पछिल्लो दुई वर्षमा महिला कबड्डीमा उल्लेखनीय सफलता हात पारेको छ । यी उपलब्धिले टोलीको मनोबललाई अझै उच्च बनाएको छ । नेपाली टोली मिसन २०२६ का लागि दीर्घकालीन योजनामा भए पनि अहिले पूर्ण रूपमा विश्वकपलाई लक्षित गरेर तयारी गरिरहेको छ ।