
काठमाडौँ । बुद्ध एयरले कल साइन 9N-AJO रहेको एटीआर–७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गरेको छ ।
२ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न यो जहाजको पूर्ण क्षमता सञ्चालनपछि आज बिदाइ गरिएको हो । यो जहाजको अधिक्तम उडान क्षमता ७२,००० साइकल हो । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ ।
यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट काठमाडौँसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिमा यस जहाजले २४ लाख ८२ हजार ७ सय ७२ यात्रु बोकेको थियो ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दिएको बताउनुभयो । “यसले बुद्ध एयरको बजार विस्तार तथा साख बढाउन दुवैमा महत्त्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौँ ।”
यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा बिदाइ गरेको थियो ।