नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

कार्तिक २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज बंगलादेशसंग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

ढाकास्थित नेशनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । एएफसी एसियन कप छनोटमा मलेसियासंग खेल्नुअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीच दुई महिनाको अन्तरमा हुन लागेको यो दोस्रो भेट हो । यसअघि गत भदौको अन्तिम साता बंगलादेशको टिम नेपाल आएको थियो । दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । जेन–जी आन्दोलनका कारण दोस्रो खेल भने हुन सकेन् । नेपाल हरि खड्काको प्रशिक्षणमा छ । उनले पहिलो पटक पुरुषको सिनियर टिम सम्हालेका हुन् । 

दुई साताअघि एसियन कप छनोटमा भियतनामसँग खेलेको टिमबाट दुई परिवर्तन गरिएको छ । भियतनामसँगको खेलपछि विदेशी प्रशिक्षक म्याट रसले राजीनामा दिएका थिए । त्यसपछि एन्फाले हरि खड्कालाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो । सहिद स्मारक ए डिभिजन लिग तत्काल हुनु पर्ने माग गर्दे खेलाडी विरोधमा छन् । कठिन अवस्थाबाट गुज्रिरहेको नेपाली फुटबललाई सफल नतिजाको आवश्यकता छ । यो खेलपछि नेपाली टिम मलेसिया जानेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.