चौथो खेलमा अपराजित कर्णाली फाइनलमा

कार्तिक २६, २०८२ |खेल ब्युरो
चौथो खेलमा अपराजित कर्णाली फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन कर्णाली लगातार चौथो खेलमा अपराजित रहँदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा पुगेको छ ।

जेन-जी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा सुचारू भएको हो । यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालिले आयोजना काठमाडौंमा सार्ने निर्णय गरेको थियो । 

विदेशी खेलाडीबिना नै सुचारू भएको लिगमा पनि कर्णालीले आफ्नो लय जारी राख्दै जित निकाल्यो र फाइनल पुग्यो । सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले निरूता ठगुन्नाको कप्तानीमा रहेको मधेस युनाइटेडमाथि ३-० सोझो सेटमा सहज जित निकाल्यो । ६ वटा फ्रेन्चाइज टोली रहेको लिगमा कर्णालीले चार खेलबाट १२ अंक बटुल्यो ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मधेसले सुरूआती अंक बटुल्दै खेलमा राम्रो प्रदर्शन गर्ने संकेत गरेको थियो । तर फितलो डिफेन्स सामना गरेपछि मधेस निरासापूर्ण नतिजा सामना गर्न बाध्य भयो । कर्णालीका कप्तान सुमित्रा र सफिया पुनले मधेसकी कप्तान निरूताको स्पाइक लगातार ब्लक गर्दै उनलाई चल्नै दिएनन् । 

मधेसकी आशा गरिएका खेलाडी आरती सुवेदी र कोपिला रानाले पनि स्वाभाविक प्रदर्शन गर्न सकेनन् । यससँगै कर्णालीले मधेसमाथि २५-१५, २५-१२ र २५-१७ ले सहज जित निकाल्यो र चौथो खेलमा पनि अपराजित यात्रा कायमै राखेको छ । कर्णालीको जितमा साफिया पुन प्लेयर अफ दी म्याच घोषित भइन् ।