
काठमाडौं । राजनीतिक दलहरुले आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाका सन्दर्भमा राजनितिक दलहरुसँग आज गरेको छलफलमा दलहरुले सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाएका हुन् । जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले निष्पक्ष निर्वाचन हुनेमा विश्वास दिलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले राजनितिक दलहरुलाई विश्वासमा लिएर निर्वाचन गर्न आफूले आयोगलाई सुझाव दिएको बताउनु भयो । निर्वाचन आफैमा जटिल विषयवस्तु भएको उल्लेख गर्नुहुँदै उहाँले हाल देश नै जटिल अवस्थाको बेलामा हुन लागेकोको निर्वाचनलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सबै राजनीतिक दलसँगको सहमति र सुझावको आधारमा निर्वाचनको कार्यतालिका ल्याउनुपर्ने बताउनु भयो । निर्वाचनको लागि सरकारले र आयोगले सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताउनु भयो । आयोगले राष्ट्रिय सुरक्षा परिषद्सँग छलफल गरेर देशभरीको सुरक्षा व्यवस्थाको जानकारी लिनुपर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचन अपरिहार्य भएको उल्लेख गर्दै आयोगले सबै राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताउनु भयो । विदेशमा रहेका र नेपालभित्रै पनि एक क्षेत्रबाट अर्को क्षेत्रमा मतदान गर्ने पाउने कुरा उठेको उल्लेख गर्दै उहाँले त्यस्तो गर्न नहुने बताउनु भयो । सम्बन्धित निर्वाचन क्षेत्रबाट मात्रै मतदान गर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनमा दलहरुबीच गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले राजनितिक दलसंग प्रतिनिधि सभाको अन्तर्गतको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिका निर्वाचन प्रणालीको निर्वाचन कार्यतालिकाका बारेमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले दलहरुसँगको छलफलबाट अन्तिम रुप दिईसकेपछि राजपत्रमा प्रकाशित गर्ने बताउनु भयो ।
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन, मतदाता नामावली लगायतका बारेमा छलफल गरिएको उल्लेख गर्नुभयो ।– न्युज एजेन्सी नेपाल