
काठमाडौं । नेपालले पहिलो महिला दृष्टिविहीन टी-२० विश्वकपमा विजयी सुरूआत गरेको छ।
भारतको बैंगलुरूमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई नौ विकेटले हराएको हो। पहिले ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो। ओपनर सन्दुनी साउमायाले १३ रनको योगदान गरिन् भने मिहरानी दुलान्जलीले सर्वाधिक २३ रन बनाइन्।
नेपाली बलर कान्ति योगीले कसिलो बलिङ गर्दै तीन विकेट हात पारेकी थिइन्। जवाफमा नेपालले एक विकेट मात्रै गुमाएर पाँच ओभर दुई बलमा नै ८८ रनको लक्ष्य पुरा गर्यो। ओपनर मनकेशी चौधरी र विनिता पुनले ३२ रनको साझेदारी गरे। विनिता १३ रनमा बोल्ड भइन्।
मनकेशीले २२ बलमा ६१ रनको विस्फोटक र सानदारी पारी खेलिन्। श्रीलंकाकी सन्दयाले मात्रै एक विकेट लिन सफल भइन्। अब नेपालले शुक्रबार भारतको सामना गर्नेछ।