
धनगढी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका स्टार ब्याट्सम्यान विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ।
आइतबार धनगढीस्थित क्याफेमा आयोजित विशेष समारोहका बीच उक्त घोषणा गरिएको हो। कम्पनीका अनुसार भण्डारीको लोकप्रियता, खेलकुदप्रतिको समर्पण र सुदूरपश्चिमका युवामाझ रहेको उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखिएको हो।
ब्रेड बक्सले सुदूरपश्चिममै उत्पादन हुने गुणस्तरीय र ताजा उत्पादनहरूलाई देशव्यापी रूपमा चिनाउने अभियान अघि बढाइरहेको जनाएको छ। कार्यक्रममा बोल्दै ब्रेड बक्सका सञ्चालक सुवास शाहीले भने, “विनोद भण्डारी सुदूरपश्चिमका गौरव हुन्। उनको अनुशासन, मिहिनेत र नेतृत्व क्षमताले हाम्रो ब्रान्डको सोचलाई प्रतिविम्बित गर्छ। यो सहकार्यले युवामा स्थानीय उत्पादनप्रतिको विश्वास अझ बढाउनेछ।”
त्यसैगरी, नयाँ ब्रान्ड एम्बासडर बनेका भण्डारीले भने, “ब्रेड बक्स जस्तो स्थानीय ब्रान्डसँग जोडिन पाउँदा गर्व लागेको छ। म सुदूरपश्चिमको माटोबाट आएको खेलाडी हुँ र स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने यात्रामा ब्रेड बक्ससँग सहकार्य गर्न पाउँदा खुसी छु।” हाल ब्रेड बक्सका तीन शाखा धनगढीमा सञ्चालनमा छन्।
क्याफेले केक, कुकिज, ब्रेड, पेस्ट्रीलगायतका डेरी प्रडक्टका साथै कफी, मःम, पिज्जा जस्ता स्वादिष्ट परिकारका कारण पनि धनगढीमा चर्चित छ।