
काठमाडौं । इंग्लिस प्रिमियर लिग-इपीएलअन्तर्गत बुधबार राति ८ खेल हुँदै छन् ।
एत्तिहाद स्टेडियममा राति सवा १ बजे हुने खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई स्वागत गर्ने छ । उपाधि दौडमा आक्रामक रूपमा अघि बढिरहेको सिटी घरेलु मैदानमा बलियो देखिएको छ । तर पछिल्ला २ खेलमा नतिजा बाँडेपछि लिगको दोस्रो स्थानमा रहेको सीटी आर्सनल भन्दा ६ अंकले पछि छ ।
सीटी यो खेल जित्दै पुनरागमनको प्रयासमा हुने छ भने ब्राइटनविरुद्ध उसलाई अंक दुरी कम गर्ने अवसर पनि हुने छ । ठूला टोलीविरुद्ध पछिल्लो समय खास नतिजा हात पार्न नसकेको ब्राइटन पनि लय समात्ने योजनामा हुने छ । उसले पछिल्ला ५ खेलमा केवल १ जित हात पारेको छ । सीटीको २० खेलमा ४२ अंक छ भने समान खेलमा २८ अंक जोडेको ब्राइटन १०औं स्थानमा छ ।
यसै समय बोर्नमथले टोटनहमको सामना गर्नेछ । पछिल्लो समय फर्म कमजोर रहे पनि बोर्नमथ घरेलु मैदानमा बलियो देखिएको छ । चेल्सी र म्यानचेस्टर युनाइटेडविरुद्ध बराबरी नतिजा निकालिसकेको बोर्नमथ पछिल्ला तीन भेटमा टोटनहमसँग अपराजित छ ।
सेलहर्स्ट पार्कमा हुने अर्को खेलमा एफए कप विजेता क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई स्वागत गर्नेछ । प्यालेस घरेलु मैदानमा खतरनाक भए पनि एस्टन भिल्ला हाल उत्कृष्ट फर्ममा छ । चेल्सी र म्यानचेस्टर युनाइटेडलाई हराएको भिल्ला शीर्ष चार दौडमा मजबुत देखिन्छ ।
सवा १ बजे हुने अर्को खेलमा एभर्टनले वुल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । रेलिगेसनको संकटमा परेको वुल्भ्स यस सिजन लिगकै कमजोर टोलीमध्ये एक बनेको छ । डेभिड मोयसको पुनरागमनपछि सुधार देखाएको एभर्टनका लागि यो खेल जित्नैपर्ने दबाबमा छ ।
यसै समय फुलहम र चेल्सी तथा ब्रेन्टफर्ड र सन्डरल्यान्ड प्रतिस्पर्धा गर्ने छन् भने राति २ बजे बर्नली र म्यानचेस्टर युनाइटेड तथा न्युक्यासल युनाइटेड र लिड्स युनाइटेड आमनेसामने हुने छन् ।