
काठमाडौं । साइतेजा मुक्कमल्ला र मिलिन्द कुमारले २ सय ६४ रनको दोहोरो शतकीय साझेदारी गरेपछि अमेरिकाले घरेलु टोली यूएईविरूद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर यूएईले फिल्डिङ रोजेपछि अमेरिकाले ५० ओभरमा तीन विकेटमात्रै गुमाएर दुई सय ९२ रन बनाएको हो। दुवई अन्तर्राष्ट्रिय रंगशालामा अमेरिकाले खास सुरूआत गर्न सकेन। ओपनर समित पटेल ५ र सायान जाहिन्गर दुई रनमा आउट भए। दुवै ओपनर गुमाउँदा अमेरिकाले ७ रनमात्रै बनाएको थियो।
तेस्रो नम्बरका मोनांक पटेललाई जुनैद सिद्दिकीले १५ रनमा पवेलियन फर्काएका थिए। सिद्दिकीले २ र मुहम्मदा रोहिदले एक विकेट लिएर यूएईलाई उत्कृष्ट सुरूआत दिलाएका थिए। तर अमेरिकाका साइतेजा र मिलिन्दले अविजित दोहोरो शतकीय साझेदारी गरे।
पावर प्लेमै खेल सुरू गरेका उनीहरूले २ सय ५८ बल खेलेर दुई सय ६४ रनको साझेदारी गरेका हुन्। खेलमा मिलिन्दले एक सय २३ रन जोडे भने मुक्कमल्लाले एक सय ३२ रनको उत्कृष्ट इनिङ खेलेका हुन्। मुक्कमल्लाले आफ्नो करिअरकै सबैभन्दा धेरै रन बनाएका हुन्। दुबै खेलाडीले करिअरको तेस्रो शतक प्रहार गर्दा युएईका कुनै बलरले आउट गराउन सकेनन्।