विराटनगर किङ्सद्वारा मार्टिन गप्टिललाई निरन्तरता

कार्तिक १६, २०८२ |खेल ब्युरो
विराटनगर किङ्सद्वारा मार्टिन गप्टिललाई निरन्तरता

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो सिजनका लागि विराटनगर किङ्सले मार्टिन गप्टिललाई निरन्तरता दिएको छ। 

दोस्रो विदेशी खेलाडीका रूपमा न्यूजिल्यान्डका विश्वप्रसिद्ध क्रिकेटर गप्टिललाई विराटनगरले यो सिजनका लागि अनुबन्ध गरेको जानकारी दिएको हो। गप्टिलले पहिलो सिजनमा देखाएको प्रदर्शन, अनुभव र नेतृत्व क्षमताले टिमलाई सशक्त बनाएको किंग्सले जनाएको छ। टी-२० आईमा एक सय २२ खेल खेलेका छन्। 

आईपीएलमा पनि १३ खेल खेलेका छन्। उनले आईपीएल, बिग ब्यासलगायत विश्वका प्रमुख लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्। गप्टिल आधुनिक क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक मानिन्छन्। उनले टी-२० र एक दिवसीय विश्वकपमा समेत उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले विस्फोटक ब्याटिङ र सीमित ओभरका खेलमा स्थिर प्रदर्शनका कारण विश्वव्यापी नाम कमाएका छन्।

२०१५ को विश्वकपमा २ सय ३७ रनको ऐतिहासिक पारी खेलेर गप्टिलले आफ्नो कीर्तिमान कायम गरेका थिए। उनको अन्तर्राष्ट्रिय अनुभवले विराटनगर किङ्सलाई टिमको रणनीति र प्रदर्शनमा ठूलो योगदान दिने अपेक्षा गरिएको क्लबले जनाएको छ। विराटनगरले लगातार दूई अनुभवी खेलाडी अनुबन्ध गरेको हो। उसले यसअघि दक्षिण अफ्रिकाका फाफ- डु प्लेसीलाई अनुबन्ध गरेको थियो।