
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको चक्रवात 'मोन्था' को गएरातिबाट प्रभाव कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाए पनि अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश र मधेस प्रदेश साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैंचामा २ सय ५२ दशमलब ४ मिलिमिटर वर्षा भएको छ । यस्तै, झापामा १ सय ७५ मिलिमिटर, इलाममा १ सय ५८, गोरखामा १ सय ९० र सप्तरीमा १ सय ५६ मिलिमिटर वर्षा भएको छ ।