
काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको आज बिहान उद्धार गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट खटिएको टोलीले आज बिहान ६ बजे उनीहरुको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।
हिमपातका कारण २ चिनियाँ र १३ नेपाली गरी १५ पर्यटक तिलिचो बेश क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएपछि शिक्षालयबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा टोली हिजो खटिएको थियो । ११ नेपालीलाई चामेतर्फ ल्याइँदै गरिएको र चिनियाँ नागरिक भने मौसम केही खुलेकाले भ्रमण पूरा गर्ने भन्दै बेस क्याम्पमा नै बसेको डीएसपी थापाले बताउनुभयो ।