काठमाडौं । फिफा विश्वकपमा सोमबार राति पौने १० बजे ब्राजिल र जापान आमनेसामने हुँदै छन् ।
सामुराई ब्ल्यु र सेलेसाओ दुवै टोली आफूलाई प्रमाणित गर्नुपर्ने अवस्थामा हुँदा यो खेल अन्तिम १६ को रोमाञ्चकमध्येको एक बन्ने पक्का छ । खेल कसरी सुरु गरिन्छ भन्ने होइन, कसरी समाप्त गरिन्छ भन्ने महत्त्वपूर्ण हुन्छ - यो ब्राजिलियन फुटबल टिमको मन्त्र हो । यही मन्त्र आत्मसात गर्दै मोरक्कोसँग १-१ को बराबरी खेले पनि ब्राजिलले त्यसपछि प्रभावशाली पुनरागमन गर्यो ।
समूह 'सी’को विजेता नै बन्यो र अब अन्तिम ३२ मा एसियाली जायन्ट जापानसँग भिड्दैछ । ह्युस्टनको एनआरजी रंगशालामा जापान भने समूह 'एफ’को उपविजेताका हैसियतमा भिड्नेछ । २०१८ को विश्वकपमा बेल्जियमसँगको प्रदर्शन होस् वा २०२२ मा जर्मनीलाई हराउँदा अथवा स्पेनलाई पछि पार्दै समूहको शीर्ष टोली बन्दा, जापानले धेरैको ध्यान आकृष्ट गर्दै आएको छ ।
यसपालि नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमै दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जापानले २-२ को नतिजा निकालेको थियो । अर्कोमा ट्युनिसियालाई चार गोलले हराएको जापानले तेस्रो खेलमा स्विडेनसँग भने १-१ को बराबरी गर्यो ।
यता, भिनिसियस जुनियर र मथेउस कुन्हाको उत्कृष्ट प्रदर्शनबाट प्रेरित ब्राजिल हेइटी र स्कटल्यान्डलाई ३-० ले हरायो भने गोल अन्तरका आधारमा २०२२ को सेमिफाइनलिस्ट मोरक्कोलाई पछि पार्यो । सन् १९८२ यता समूह चरणबाट माथि उक्लिएको ब्राजिलले यसपटक पनि त्यो कीर्तिमान भत्किन दिएन ।
समूह चरणमा ब्राजिलको अन्तिम जितपछि प्रसिद्ध जर्मन प्रशिक्षक योर्गन क्लोपले ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीलाई लक्षित गर्दै भनेका छन्- उनले एकपटक आँखा झिमिक्क पारेर बिग्रिएको टिम पनि मिलाउन सक्छन् । यो अर्थमा उनी ब्राजिलका पूर्ण सक्षम प्रशिक्षक हुन् ।
यसको प्रमाण ब्राजिले मैदानबाटै दिएको छ । पछिल्ला ६ खेलमध्ये ५ मा जित हात पारेको यो टोलीको स्ट्याट त्यसअघिका १२ खेलमा मात्र ५ जित थियो । ब्राजिलले पछिल्लो दुई खेलमा दुई क्लिन सिट पनि राखेको छ । जबकि त्यसअघि ६ खेलमा कम्तीमा एक एक गोल खाएको थियो । तर, ब्राजिलको यो रेकर्ड तोड्न सक्ने टोली हो जापान ।
किनकि ब्राजिललाई गत अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ३-२ ले हराएको थियो । १४ प्रयासपछि जापानले हात पारेको त्यो पहिलो जित पनि थियो । यता सन् २०२६ मै इङ्ल्यान्डलाई हराउनु र नेदरल्यान्ड्ससँग बराबरी खेल्नुले जापानलाई 'डार्क हर्स' टोलीका रूपमा चिनाएको छ ।
समूह 'एफ' मा दोस्रो स्थानमा सीमित रहे पनि जापानको डिफेन्सको परीक्षण भएको छ । स्विडेनका एन्थोनी एलान्गाको शानदार गोल जापानले पछिल्ला ५ सय ४० मिनेटमा खाएको मात्र तेस्रो गोल थियो । यसले जापानको डिफेन्स मजबुत रहेको संकेत दिन्छ । गोलकिपर जियोन सुजुकीले पनि उत्कृष्ट प्रदर्शन गर्नसक्ने प्रमाण दिइसकेका छन् ।
तर, जापानले अहिलेसम्म पनि विश्वकपमा नकआउट चरणमा जित्न सकेको छैन । २००२, २०१०, २०१८ र २०२२ मा जापान अन्तिम १६ बाटै बाहिरिएको थियो । अन्यमा ऊ समूह चरणमै रोकियो । यता राफिन्हाको ह्याम्स्ट्रिङ ब्राजिलका लागि तनावको विषय हो । तर, बार्नमथका युवा खेलाडी रायनलाई यो विश्वकपको नकआउट खेल्ने अवसर हुनसक्छ ।
रियल मड्रिडका स्टार भिनिसियस जुनियर विश्वकपको समूह चरणका सबै खेलमा गोल गर्ने पाँचौँ ब्राजिलियन हुन् । जापानका सेन्टर ब्याक इटाकुरा स्विडेनविरुद्ध ३९औँ मिनेटमै चोटका कारण बाहिरिएका थिए, तर चोट गहिरो नभएको अनुमान छ । फरवार्ड ताकेफुसा कुबोको अवस्थाबारे चाहिँ चिन्ता अलि बढी छ । घुँडाको चोटका कारण उनी पूर्ण प्रशिक्षणमा छैनन् ।
पछिल्लो खेलमा पहिलो गोल गरेका डाइजेन माएडा लगातार टिममा रहन सक्छन् । जबकि मिडफिल्डर काइशु सानो युकिनारी सुगावाराको स्थानमा फर्किन सक्छन् । यो खेलको विजेता टोलीले अन्तिम १६ मा आइभरी कोस्ट वा नर्वेमध्ये एकसँग खेल्नेछ ।