जेरार्ड एरास्मसले काठमाडौं गोर्खाजबाट लगातार दोस्रो पटक एनपीएल खेल्ने

कार्तिक १२, २०८२ |खेल ब्युरो
जेरार्ड एरास्मसले काठमाडौं गोर्खाजबाट लगातार दोस्रो पटक एनपीएल खेल्ने

काठमाडौं । नामिबियाका कप्तान जेरार्ड एरास्मसले लगातार दोस्रो सिजन काठमाडौं गोर्खाजबाट नेपाल प्रिमियर लिग-एनपीएल खेल्ने भएका छन् ।

गोर्खाजले दोस्रो विदेशी खेलाडीको रूपमा एरास्मसलाई टिममा सामेल गरेको हो । गत संस्करण गोर्खाजको उपकप्तानको जिम्मेवारीमा रहेका एरास्मसले ७ खेलमा १ सय १० रन बनाउनुका साथै ११ विकेट लिएका थिए ।

२०२३ र २०२४ मा आईसीसी पुरूष एसोसिएट क्रिकेटर अफ द इयर अवार्ड जितेका ३० वर्षे एरास्मसले नामिबियाबाट ७७ टी-२० आईको ७३ इनिङ्समा १ शतक र १३ अर्धशतकसहित १८ सय ३३ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा २ शतक र १७ अर्धशतकका साथ २१ सय ७८ रन प्रहार गरेका एरास्मस दुवै प्रारूपको ह्वाइट बल क्रिकेटमा नामिबियाका लागि सर्वाधिक रनकर्तासमेत हुन् । 

एसोसिएट राष्ट्रका उत्कृष्ट अलराउण्डर मध्येका एक एरास्मससँग विश्वभरका अन्य लिग खेलेको समेत अनुभव छ । नयाँ लोगो, जर्सी र रणनीतिसहित मैदान उत्रिन लागेको गोर्खाजले यसअघि नै दक्षिण अफ्रिकी मुलका इंग्लिस क्रिकेटर रिकार्डो भास्कोनेसेलोसलाई विदेशी खेलाडीको रूपमा हस्ताक्षर गरिसकेको छ । 

गोर्खाजको मुख्य प्रशिक्षकको जिम्मेवारीमा मोन्टी देशाई छन् । दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म हुँदैछ ।