
काठमाडौं । प्रदर्शनी मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले बुधबार भारतको सामना गर्दैछ ।
सिक्किमको पाल्जोर रंगशालामा खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरू हुनेछ । प्रदर्शनी खेल भएकाले यस खेलले फिफाबाट अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । दुई दिन अघि यी दुई टोलीले त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा एक-अर्काविरूद्ध प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगिताको उपाधि भने इरानले जितेको थियो । इरानसँग ३-० ले पराजित नेपालले भारतलाई २-१ ले हराएको थियो । भारतविरूद्ध कप्तान सावित्रा भण्डारीको दुई गोल गरेकी थिइन् । आजको खेलका लागि भने सावित्रा उपलब्ध हुने छैनन् । उनी व्यावसायिक फुटबलका लागि अस्ट्रेलिया फर्किइसकेकी छन् । यस्तै प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि व्यावसायीक फुटबलमा फर्कंदा यी दुई खेलाडी पनि उपलब्ध हुने छैनन् ।