घरजग्गा र सेयरबजार काराेबारमा आएकाे मन्दीकाे असर राजस्वमा

कार्तिक १२, २०८२ |सुदिल पोखरेल
घरजग्गा र सेयरबजार काराेबारमा आएकाे मन्दीकाे असर राजस्वमा

काठमाडौं । घरजग्गा कारोबारमा आएको मन्दी तथा सेयरबजार घट्दा त्यसको प्रत्यक्ष असर सरकारको राजस्व संकलनमा देखिएको छ । 

घरजग्गा र सेयरबजारबाट राज्यलाई प्राप्त हुने कर गत वर्षभन्दा घटेको छ । लगानी नभएका कारण बैंकमा तरलता थुप्रिँदा पनि राज्यलाई प्राप्त हुने ब्याज बापतको कर ओरालो लागेको छ । सरकार आफैंले विकास खर्च कम गर्दा राजस्वमा धक्का लाग्नुले मुलुक अझै मन्दीमै रहेको देखाएको विज्ञले बताएका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार सरकारले असोजसम्म सेयरबजार तथा घरजग्गामा लाग्ने पुँजीगत लाभकरबाट ६ अर्ब ९६ करोड मात्रै संकलन गरेको छ । जबकी गत वर्षको असोजसम्म सरकारले १० अर्ब २५ करोड रूपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । यस्तै ब्याजबापत हुने कर गत वर्ष ८ अर्ब ७३ करोड संकलन भएकामा यो वर्षको सोही अवधिमा ७ अर्ब १६ करोडमात्रै संकलन भएको छ । 

घरजग्गा र सेयरबजारमा आएको शिथिलतासँगै लगानी विस्तारमा परेको प्रभावले सरकारको आयकर संकलनमै धक्का लागेको छ । सरकारले असोजसम्म ७१ अर्ब २२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४६ अर्ब ४६ करोडमात्रै संकलन गरेको छ । जुन गत वर्ष यही समयमा ५० अर्ब २८ करोड संकलन भएको थियो ।

ठूला कम्पनीहरूको आम्दानीमा गिरावट नआउँदा पनि आयकर घटेको छ । कर्पाेरट आयकर भने १३ प्रतिशतले वृद्धि भएको विभागको आँकडा छ । मूल्यअभिवृद्धि कर ३६ अर्ब ९७ करोड उठाउने लक्ष्य लिएकामा ३३ अर्ब ४७ करोड उठेको छ । गत वर्ष यही समयमा मूल्य अभिवृद्धि कर ३१ अर्ब ४२ करोड उठेको थियो । 

ठेक्का तथा परामर्श बापत हुने मूल्य अभिवृद्धि करमा ९ प्रतिशतले कमि आएको छ । यसरी सरकारी विकास निर्माणका काममा आएको सुस्ततासँगै लगानी विस्तार हुन नसक्दा घटेको राजस्वले मुलुक मन्दीमा रहेको देखिएको अर्थविद्हरू बताउँछन् ।पहिलो त्रैमासको अन्तिम महिनामा आन्दोलनका कारण व्यापार व्यवसाय प्रभावित भएको थियो । 

असोजपछि कात्तिकमा पनि व्यवसायीमा निराशा कायमै देखिएको छ । यसैले आगामी दिनमा लगानीको वातावरण नसुधार्ने हो भने अन्य करहरू पनि घट्ने जोखिम रहेको विज्ञहरूको आकलन छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।