चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

कार्तिक ११, २०८२ |खेल ब्युरो
चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी । जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

खुला वडास्तरीय पुरूष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरूष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको गलकोट नगर भलिबल सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक होमबहादुर थापाले जानकारी दिनुभयो ।

गलकोट-६ बसाहफाँटमा सञ्चालन हुने चारवटै विधाका प्रतियोगितामा अहिलेसम्म ५१ समूह सहभागी हुने निश्चित भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार भेट्रान्स कपका लागि १६, खुला वडास्तरीय पुरुष भलिबलमा १२, माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबलमा १६ र खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा सात समूह सहभागी हुनेछन् ।

खुला प्रतियोगिता भएकाले जुनसुकै जिल्लाका पालिका र वडाका समूहले सहभागिता जनाउन सक्ने अध्यक्ष थापाले बताउनुभयो । प्रतियोगिताको खुला पुरुषतर्फको खेलका विजेताले ट्रफी र मेडलसहित रू दुई लाख एक हजार १११, उपविजेताले रू एक लाख एक हजार १११ र तेस्रो हुनेले रू ५१ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् ।

भेट्रान्स कप भलिबको विजेताले ट्रफी र मेडलसहित रू एक लाख, उपविजेताले रू ६० हजार र तेस्रो स्थान हासिल गर्नेले रू ३५ हजार पुरस्कार प्राप्त गर्नेछन् । खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताका विजेताले ट्रफी र मेडसहित रू ५१ हजार १११, उपविजेताले रू ३० हजार १११ र तृतियले रू १५ हजार १११ प्राप्त गर्नेछन् ।

माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ट्रफी र मेडलसहित रू ३५ हजार, उपविजेतालाई रू २० हजार र तृतीयलाई रू १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताउनुभयो । उक्त अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको उहाँको भनाइ छ ।

सामूहिक लोकनृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, खुला डबल ब्याडमिन्टन प्रतियोगिता, आमासमूहस्तरीय पञ्चेबाजामा नृत्य प्रतियोगिता र माछा छोप्ने प्रतियोगिता आयोजना गरिएको छ । सामूहिक लोकनृत्य प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः रू २५ हजार, रू १५ हजार र रू सात हजार राखिएको छ । 

एकल नृत्यतर्फ रू १५ हजार, रू १० हजार र रू सात हजार राखिएको छ । डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेलाई रू ३५ हजार र दोस्रो हुनेलाई रू २० हजार प्रदान गरिनेछ । पञ्चेबाजामा हुने नृत्यमा प्रथम हुनेलाई रू १० हजार, दोस्रो हुनेलाई रू पाँच हजार र तेस्रो हुनेलाई रू दुई हजार ५०० पुरस्कारको व्यवस्था गरिएको छ ।

स्थानीय दरमखोलामा हुने माछा छोप्ने (हत्केला खेल्ने) प्रतियोगिताका विजेतालाई रू १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताउनुभयो । कार्यक्रम अवधिभर विभिन्न विधाका कलाकारको साङ्गीतिक प्रस्तुति रहने उहाँले उल्लेख गर्नुभयो ।-रासस