काभा मेन्स भलिबल नेसन्स कपमा नेपाल पाँचौ स्थानमा

कार्तिक ११, २०८२ |खेल ब्युरो
काभा मेन्स भलिबल नेसन्स कपमा नेपाल पाँचौ स्थानमा

काठमाडौं । ६ देशको सहभागिता रहेको काभा मेन्स भलिबल नेसन्स कपमा नेपाल पाँचौ भएको छ। 

बंगलादेशको मिरपुरमा मंगलबार सम्पन्न प्रतियोगितामा पाँचौ स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई चार सेटमा हराएर अन्तिम हुनबाट जाेगिएकाे हो। लिग चरणको अन्तिम दुईमा रहेपछि नेपाल र माल्दिभ्सले पाँचौ स्थानको वरियताका लागि मंगलबार खेलेका थिए। 

खेलको पहिले सेटको सुरूआत प्रतिस्पर्धात्मक भए पनि बीचमा माल्दिभ्सले १७-१३ को अग्रता बनाएको थियो। तर नेपालले पुनरागमन गरेर २३-२३ मा बराबरी गर्दै २९-२७ को जित निकालेको हो। दोस्रो सेटमा माल्दिभ्सले नै सुरूआति अग्रता लिएको थियो। त्यसपछि पुनरागमन गरेको नेपालले २५-२० को जित हाासिल गरेको हो। 

खेलको तेस्रो सेट झनै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो। माल्दिभ्सले बनाएको अग्रता उल्टाउँदै नेपालले १६-१६ मा बराबरी गरेको थियो। अन्तिममा माल्दिभ्सले लगातार म्याच पोइन्ट बचाए ३७-३५ खेले सेट जितेको थियो। यससँगै खेलमा २-१ को अवस्थामा पुगेको थियो। चौथो सेटमा भने नेपालले लगातार अग्रता बनाएर २५-२० को जित निकालेको हो।

प्रतियोगितामा माल्दिभ्स छैटौं र नेपाल पाँचौ भयो।