
काठमाडौं । अस्ट्रेलियासँगको तीन खेलको सिरिजमा भारतले नौ विकेटको सान्त्वना जित हात पारेको छ ।
सिड्नीमा सम्पन्न भएको तीन खेलको सिरिज आयोजक टोलीले एक खेल अगावै जितेको भए पनि तेस्रो खेलमा भारत विजयी भएको हो । यो खेलमा रोहित शर्मा र विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे । टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ४६ ओभर चार बलमा अल आउट भएर २ सय ३६ रन बनाएको थियो । उसका शीर्ष क्रममा सबै खेलाडीले राम्रै प्रदर्शन गरे ।
ओपनर मिचेल मार्सले ४१, ट्रेभिस हेडले २९, म्याथ्यु सर्टले ३६ रन बनाए । म्याट रेनशले ५६ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यसपछिका ब्याटरले भने सम्हालिएर प्रदर्शन गर्न सकेनन् । भारतका लागि हर्षित रानाले सानदार बलिङ गरे । उनले ८ ओभर चार बलमा ३९ रन मात्रै प्रदान गरेर चार विकेट लिएका थिए ।
जवाफमा भारतले सानदार सुरूआत गर्यो । कप्तान शुभमन् गिल व्यक्तिगत २४ रन बनाएर आउट भए पनि उनले रोहित शर्मासँग ६९ रनको साझेदारी गरेका थिए । त्यसपछि रोहित र विराटले उत्कृष्ट पारी खेले । उनीहरुले १ सय ६८ रनको अविजित पारी खेलेका थिए । रोहितले १ सय २५ बलमा १३ चौका र तीन छक्कासहित १ सय २१ रन बनाएका थिए । कोहलीले सात चौकासहित ७४ रन जोडे ।
अस्ट्रेलियाका लागि जेस हेजलवुडले विकेट लिए पनि बाँकी खेलाडी विकेटविहीन रहे । अस्ट्रेलियाले पहिलो खेलमा ७ र दोस्रो खेलमा २ विकेटको जित हासिल गरेको थियो । यो सिरिजका तिनै खेलमा लक्ष्य पछ्याउने टोलीले जित निकालेको छ । अब यी दुई टोलीबीच पाँच खेलको टी-२० आई शृङ्खला पनि आयोजना हुनेछ । यो शृंखला २९ अक्टोबरदेखि ६ नोभेम्बरसम्म हुनेछ ।