
काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आईटी पार्क गेट अगाडि गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पनौतीबाट बनेपातर्फ जानका लागि सडक किनारमा रोकिराखिएको गिट्टी लोड गरिएको बा २ ख ७३५० नम्बरको टिपर तथा बागमती प्रदेश ०१–००६ ख २२१७ नम्बरको टिपर मा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बाँकेको नेपालगञ्ज स्थायी घर भई हाल पनौती नगरपालिका–७ मा बसोबास गर्दै आएका १८ वर्षीय सुदिप खत्री गम्भीर घाइते भएका थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अत्यधिक गतिमा (ओभर स्पिड) रहेको र सोही कारण रोकिराखिएको टिपरमा ठोक्किएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।