काठमाडौं । इङलिस प्रिमियर लिग-ईपीएलमा आइतबार दुई जायन्ट लिभरपुल र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदैछन् ।
लिभरपुल तेस्रो र युनाइटेड एघारौं स्थानमा छ । लिभरपुलको मैदान एनफिल्डमा हुने खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरू हुनेछ । इन्टरनेशनल ब्रेकपछि दुवैको यो पहिलो खेल हो । साविक विजेता लिभरपुल पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको छ ।
सबै प्रतिस्पर्धामा गरी लिभरपुल तीन खेलयता जीतविहीन छ । प्रिमियर लिगमा चेल्सी र क्रिस्टल प्यालेससँग हार बेहोर्दा लिभरपुलले अन्तिम समयमा गोल खाएको थियो । समर साइनिङमा चार सय मिलियन पाउन्ड बढी खर्च गरेको लिभरपुलका प्रशिक्षक आर्ने स्लट दबाबमा छन् । लयमा फर्किन युनाइटेडलाई पराजित गर्नु पर्नेछ ।
इजिप्टलाई सन् २०२६ को फिफा विश्वकपमा छनोट गराएका मोहम्मद सालाहले लिभरपुलका लागि गत सिजनको जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । तर युनाइटेडसँग उनको रेकर्ड राम्रो छ । सालाहले युनाइटेडविरूद्ध १३ गोल गरेका छन् । यस्तै १९ गोलमा उनको संलग्नता छ ।
महंगो रकममा भित्रिएका अलेक्जान्डर इसाकले लिगमा अझै गोल गर्न सकेका छैनन् । कोडी गाक्पोबाट लिभरपुलले उच्च प्रदर्शनको आश राखेको छ । यता युनाइटेडले लिगको पछिल्लो खेलमा सन्डरल्यान्डलाई २-० गोलले हराएको थियो । प्रशिक्षक रूवेन आमोरिमका लागि एनफिल्डमा लिभरपुललाई हराउने यो सुनौलो मौका हुन सक्छ । किनकि युनाइटेडले एनफिल्डमा जीत हात पार्न नसकेको १० वर्ष भइसकेको छ ।
पछिल्लो पटक सन २०१६, जनवरीमा जित हात पारे यताका दश खेलमा नतिजा लिभरपुलको पक्षमा छ । सो खेल यता युनाइटेडलाई ५ प्रशिक्षकले सम्हालिसकेका छन् । बेन्जामिन सेस्कोले लगातार गोल गरिरहेका छन् । ब्रुनो फर्नान्डेज युनाइटेडका मुख्य खेलाडीका रूपमा रहनेछन् । लिभरपुलको ७ खेलबाट १५ र युनाइटेडको १० अंक छ ।
प्रिमियर लिगमा पछिल्लो पटक भएको प्रतिस्पर्धा २-२को बराबरीमा सकिएको थियो । आज साँझ पौने ७ बजे टटेनहम र एस्टन भिल्लाबीचको खेल पनि हुनेछ ।