काठमाडौं । नेपाली क्रिकेट अहिले शानदार लयको शिखरमा छ ।
राष्ट्रिय पुरुष टोलीले अपराजित रहँदै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको उपाधि जित्दै २०२६ को टी-२० विश्वकपमा स्थान सुनिश्चित गरेको छ । यो नेपालको क्रिकेट इतिहासमा हासिल भएको सबैभन्दा ठूलो सफलता हो ।
सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसोसिएट सदस्य बनेको नेपालले यसअघि पनि एसीसी र आईसीसीका केही प्रतियोगितामा उपाधि जितेको थियो । तर, यो स्तरको उपलब्धि भने यो पहिलो पटक हो । सन् २०२३ मा नेपालमा भएको एसीसी प्रिमियर कप नेपाली क्रिकेटका लागि नयाँ युगको सुरूवात बनेको थियो ।
काठमाडौंको मैदानमा हजारौं समर्थक सामु फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । जुन त्यसबेलासम्म नेपालले जितेको सबैभन्दा ठूलो उपाधि थियो । तर, त्यसपछिको यात्रामा नेपालले अझ ठूलो उचाइ छोयो ।
ओमानमा सम्पन्न आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा सामोआलाई अन्तिम खेलमा पराजित गर्दै नेपालले अपराजित रहँदै च्याम्पियनको रूपमा लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको यात्रा तय गर्यो । यो नेपाली क्रिकेटले प्राप्त गरेको हालसम्मकै ठूलो उपाधि बन्यो ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो उपाधि भने सन् २००६ जितेको थियो । एसीसी फास्ट ट्रयाक कट्रिज टुर्नामेन्ट नामको तीनदिवसीय प्रतियोगितामा नेपालले उपाधि जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएको थियो । यो प्रतियोगिता २००४ देखि २००६ सम्म तीन संस्करणभन्दा अघि बढ्न सकेन । २००६ को संस्करणमा नेपालले च्याम्पियन बनेपछि यस प्रतियोगितालाई एसीसी टी-२० कपले प्रतिस्थापन गर्यो ।
सन् २०१० मा नेपालले आईसीसी विश्वकप लिग डिभिजन ५ को उपाधि जित्दै डिभिजन ४ मा बढुवा पायो । त्यसपछि २०१२ मा डिभिजन ४ को उपाधि जितेपछि नेपाल डिभिजन ३ का लागि छनोट भयो । २०१३ मा नेपालले डिभिजन ३ को उपाधिसमेत हात पार्दै आफ्नो स्तर फेरि उकास्यो ।
यो उपलब्धिसँगै नेपालले २०१४ आईसीसी विश्वकपको छनोटमा सहभागिता जनायो । तर १० टोली मध्ये नवौं स्थानमा रहेपछि पुनः डिभिजन ३ मा घटुवा भयो र २०१८ सम्म एकदिवसीय मान्यता नपाउने निस्चित भयो । २०१४ मा पुनः डिभिजन ३ को च्याम्पियन बनेर डिभिजन २ मा प्रवेश गर्यो । २०१८ मा नेपाल डिभिजन २ को उपविजेता बनेपछि २०१८ विश्वकप छनोटमा स्थान बनायो ।
छनोट प्रतियोगिताको ८औं स्थानमा रहेपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गर्यो । नेपालले एसीसीका प्रतियोगिताहरूमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ । सन् २००२ को एसीसी ट्रफीमा नेपाल उपविजेता बनेको थियो ।
त्यसपछि सन् २०१० उपविजेता बनेको नेपालले सन् २०१२ मा भने यो उपाधि जित्न सफल भयो । सन् २०१३ मा आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेपछि नेपालले पहिलो पटक २०१४ टी-२० विश्वकपमा सहभागी हुने अवसर पायो ।
त्यो विश्वकपमा नेपालको प्रदर्शनले सम्पूर्ण विश्व क्रिकेट समुदायलाई प्रभावित पार्यो । त्यसपछि २०२३ मा घरेलु मैदानमा आयोजित आईसीसी टी-२० विश्वकप एसिया छनोटमा उपविजेता बनेर नेपालले २०२४ टी-२० विश्वकपमा स्थान सुरक्षित गर्यो । ओमानसागको फाइनलमा सुपर ओभरमा पराजित भए पनि नेपालको प्रदर्शन गौरवपूर्ण रहृयो ।
सन् २०१९ देखि २०२३ सम्म नेपालले आईसीसी लिग २ प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्यो । प्रतियोगिताको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा स्थान पायो र एकदिवसीय मान्यता जोगाउन सफल भयो । हाल पनि नेपाल लिग २ कै अर्को चक्रमा प्रतिस्पर्धा गरिरहेको छ र निरन्तर बलियो एसोसिएट राष्ट्रको रूपमा उभिएको छ ।
यस क्रममा नेपालले टेस्ट टोलीविरुद्ध पनि सिरिज जितिसकेको छ । यी सबै सफलताका बीचमा खेलाडीको संघर्ष, अनुशासन र समर्थकको प्रेमले क्रिकेटलाई राष्ट्रिय भावना बनाएको छ । एसीसी फास्ट ट्रयाक टुर्नामेन्टको पहिलो उपाधिदेखि आईसीसी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दासम्म नेपाली क्रकेटले धेरै उतार चढावको सामना गरेको छ ।
विविध समस्याकाबीच भूगोलका आधारमा सानो राष्ट्रका सपनाहरू पनि विशाल हुन्छन् भन्ने प्रमाणित गरेको छ ।