निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक तयारी पनि अघि बढाएको छ ।

आश्विन २७, २०८२ |सुमन पन्थ
निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक तयारी पनि अघि बढाएको छ ।

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक तयारी पनि अघि बढाएको छ । 

निर्वाचनका लागि मतपेटिका, कागजजस्ता केही सामग्री अघिल्लो निर्वाचनकै मौज्दातबाट प्रयोग गर्न सकिए पनि बजेट तथा सुरक्षा व्यवस्थापनका लागि सरकारको निर्णयको प्रतिक्षामा आयोग अधिकारीहरू छन् । यसपटक निर्वाचनका लागि ५ अर्ब हाराहारीमा बजेट माग गर्ने तयारी आयोगको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अघिल्लो निर्वाचनकै केही मौज्दात सामग्री प्रयोग गर्ने तयारी निर्वाचन आयोगको छ । २०७९ को निर्वाचनमा २२ हजार २ सय २७ मतदान केन्द्रका लागि प्रयोग भएका मतपेटिकाहरू यसपटक पनि प्रयोग हुनेछन् भने करिब ४ सय टन कागज मौज्दात रहेको आयोगले जनाएको छ । यसपटक अघिल्लो निर्वाचनमा जस्तो खर्च नहुने आयोग अधिकारीहरूको भनाइ छ ।

२०७९ को निर्वाचनका लागि सरकारले ९ अर्ब ७० करोड रूपैयाँ विनियोजन गरेकोमा तीनै तहको निर्वाचनमा ६ अर्ब ४१ करोड रूपैयाँमात्र खर्च भएको थियो । यसपटक पुरानै पूर्वाधारले काम चलाउन सकिने भएकाले ५ अर्ब रूपैयाँ हाराहारीमा मात्र बजेट माग गर्ने तयारी आयोगको छ । 

चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि बजेट विनियोजन नभएको हुँदा अन्य शीर्षकको बजेट तानेर खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । चुनाव तथा पुनर्निर्माणको रकम जोहोका लागि सरकारले खर्च कटौतीको निर्णयसमेत गरिसकेको छ, जसअनुसार १ खर्ब २० अर्ब रूपैयाँ चालु बजेटबाट निकाल्न सकिने अर्थमन्त्री रामेश्वर खनालले बताउँदै आउनुभएको छ । यसमा निर्वाचन आयोगसमेत ढुक्क जस्तै छ ।

निर्वाचनको तयारीबारे अहिले दैनिकजसो छलफल भइरहेको छ । केही सरकारी अधिकारीहरूले फागुन २१ मा हिमाली जिल्लामा निर्वाचन गर्न कठिन हुने बताए पनि आयोग एकै चरणमा निर्वाचन गर्ने पक्षमा छ । एकै चरणमा निर्वाचन गर्न नसकिए सुरक्षा जटिलता आउन सक्ने आकलन आयोगका अधिकारीहरूको छ । 

यसबारे पनि आयोगले सुरक्षा संयन्त्रसाग निरन्तर छलफल गरिरहेको छ । यसपछि म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरिने आयोगले जनाएको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।