आईसीसी टी-२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक क्षेत्र छनोट सुपर सिक्सको समीकरण पूरा

समूहको अन्तिम खेलमा पीएनजीलाई ५२ रनले हराउँदै ओमान पनि सुपर सिक्समा
आश्विन २५, २०८२ |खेल ब्युरो
 आईसीसी टी-२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक क्षेत्र छनोट सुपर सिक्सको समीकरण पूरा

काठमाडौं । ओमान आईसीसी टी-२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक क्षेत्र छनोटको समूह चरणमा अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेको छ । 

गएराति घरेलु मैदानमा भएको खेलमा ओमानले पीएनजीलाई ५२ रनले हराएको छ । पहिले ब्याटिङ गरेको घरेलु टिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । १ सय ३९ रनको लक्ष्य पछ्याएको पीएजनी ८६ रनमा समेटिएपछि ओमानले सुपर सिक्समा समेत जोडिन २ अंक आफ्नो बनाएको छ। 

कमजोर सुरूआत गरेको ओमानले २५ रनमा नै तीन विकेट गुमाएको थियो। तर त्यसपछि जतिन्दर सिंह र आर्यन विष्टले समान १९-१९ जोडेका थिए । मोहम्मद नदिमले २८ र विनायक शुक्लाले ४८ रनको योगदान गरेसँगै ओमानले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । 

यता, पीएनजीका लागि कबुबा मोरेले दुई विकेट लिएका थिए । जवाफमा १६ ओभर चार बल मात्रै मैदानमा टिकेको पीएनजी ८६ रनमा समेटिएको हो। ओपनर सेसे बाउले ३५ रन जोडे पनि शीर्ष क्रमका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । प्याट्रिक नोउले भने १९ रनको योगदान गर्न सके । 

ओमानका सकिल अहमद र जितेनकुमार रामानन्दीले समान तीन-तीन विकेट लिएपछि ओमानले सहजै जित आफ्नो पक्षमा पारेको हो । यो जितसँगै समूह विजेता बनेको ओमानसँगै यूएई र नेपाल पनि अपराजित रहँदै सुपर सिक्समा पुगेका हुन्। गएरातिको खेलसँगै सुपर सिक्सको समीकरण पनि पूरा भएको छ।

अब ओमानले सुपर सिक्सको पहिलो खेलमा आइतबार पौने १२ बजे कतारको सामना गर्नेछ। भोलि अर्थात् नै सवा ४ बजे नेपालले यूएईसँग खेल्ने तालिका छ।