होम एन्ड अवे लिगको प्रस्ताव गरेर अलपत्र छोडेको भन्दै सहिद स्मारक 'ए' डिभिजन क्लबद्वारा एन्फाको आलोचना

लिगको संरचनाबारे स्पष्ट बन्न आग्रह
आश्विन २५, २०८२ |खेल ब्युरो
 होम एन्ड अवे लिगको प्रस्ताव गरेर अलपत्र छोडेको भन्दै सहिद स्मारक 'ए' डिभिजन क्लबद्वारा एन्फाको आलोचना

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लबहरूले होम एन्ड अवे लिगको प्रस्ताव गरेर अलपत्र छोडेको भन्दै अखिल नेपाल फुटबल संघ-एन्फाको आलोचना गर्दै सुझावपत्र पेस गरेका छन् ।

लिगका १४ मध्ये नौ क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै लिगको संरचनाबारे स्पष्ट बन्न एन्फालाई आग्रहसमेत गरेका छन् । अहिले एन्फा र क्लबहरु एक अर्काविरुद्ध आरोप-प्रत्यारोपमा उत्रिएका छन् । तर लिग आयोजना र सहभागिताबाट पन्छिने गरेको आरोप दुवै पक्षलाई छ। 

यसैबीच एन्फाले असोज २६ गते क्लबहरुलाई लिगबारे छलफललाई बोलाएको छ। त्यसअघि क्लबले कानुनी रुपमा नै १० वर्षका लागि लिजमा आफ्नो ग्राउन्ड पाउनुपर्ने, तयारी खर्च दिनुपर्ने, लिग सञ्चालनका लागि स्वतन्त्र समिति बनाउनुपर्ने, १० महिनाअघि नै प्रायोजक र प्रसारक सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका हुन् ।

पुष ९ गतेदेखि एन्फाले लिग सञ्चालनको मिति तोके पनि अहिलेसम्म तयारी गरेको छैन । न एन्फाले होम एन्ड अवे शैलीमा कसरी जाने भन्ने तरिका नै सार्वजनिक गरेको छ । यस्तो अवस्थामा क्लबहरुले लिग आयेाजनाका लागि १० बुँदे सुझाव एन्फालाई पेस गरेका हुन् ।