महिला राष्ट्रिय क्रिकेट टिमका लागि प्रमुख प्रशिक्षककाे आवेदन खुला

आश्विन २५, २०८२ |खेल ब्युरो
महिला राष्ट्रिय क्रिकेट टिमका लागि प्रमुख प्रशिक्षककाे आवेदन खुला

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि प्रमुख प्रशिक्षक नियुक्त गर्न आवेदन खुला गरेको छ। 

क्यानले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक प्रदर्शन सुनिश्चित गर्न सक्षम, अनुभवी र योग्य प्रशिक्षकको आवेदन माग गरेको जनाएको छ। संघद्वारा जारी गरिएको विज्ञापनअनुसार, प्रमुख प्रशिक्षकले राष्ट्रिय टिमको दीर्घकालीन विकासलाई ध्यानमा राखेर योजना, संरचना र कार्यक्रमको तयारी गर्नुपर्नेछ। 

प्रमुख प्रशिक्षकले दीर्घकालीन प्रतिभा पहिचान र विकास कार्यक्रमहरू सञ्चालनमा पनि सहयोग गर्नुपर्ने विज्ञापनमा उल्लेख गरिएको छ। इच्छुक उम्मेदवारले इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड ईसीबी वा क्रिकेट अस्ट्रेलिया सिएको लेभल ३ वा सो सरहको मान्यता प्राप्त प्रमाणपत्र हासिल गरेको हुनुपर्नेछ। 

नेपालमा पनि लेभल ३ प्रशिक्षक रहे पनि क्यानले भने पूरा समय विदेशी प्रशिक्षकको खोजी गरिरहेको छ। यता खेलाडीले पनि विदेशी प्रशिक्षक राख्नुपर्ने माग गर्दै अएका छन् । यसअघि क्यानले देविका पाल्सिखरजस्ता विदेशी प्रशिक्षकलाई केही समयका लागि प्रशिक्षणको जिम्मेवारी दिएको थियो। केही समयको लागि कन्सलट्यान्ट मात्रै थिए ।

प्रशिक्षक हुन चाहनेसँग पूर्ण सदस्य, फर्स्ट क्लास टिम वा एसोसिएट सदस्य राष्ट्रअन्तर्गत कम्तिमा पाँच वर्षको पेशागत प्रशिक्षण अनुभव भएको हुनुपर्ने जनाइएको छ । महिला क्रिकेटको संरचना र एसोसिएट राष्ट्रहरूको क्रिकेट प्रणालीप्रति राम्रो बुझाइ भएको प्रशिक्षकलाई क्यानले प्राथमिकता दिने जनाएको छ । 

नेपाली महिला टिम यसअघि मनोज कटुवालको नेतृत्वमा रहेको थियो ।