काठमाडौं । नेपाल र जापान एक खेलअगावै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेका छन् ।
आज सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ बिकेटले स्तब्ध पारेपछि जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन् । लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो पहिलो खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो ।
अल अमेरात स्टेडियममा जापानले टस जितेर फिल्डिङ रोजेपछि पहिला व्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रनको राम्रो योगफल तयार पारेको थियो । उसका लागि क्लिन्टो एन्टोले ३४, मित भावसरले २९, अली जाहिरले सर्वाधिक ४१ रनको योगदान दिएका थिए । यासिल पटेल ४० रनमा आउट भए । जापानका लागि सुजुकी म्याकम्बले ३ तथा रविचन्द्रनले २ विकेट हात पारे ।
जवाफमा १ सय ७८ रनको चुनौतीपूर्ण लक्ष्य जापानले ३ बल बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्यो । उसका लागि इसाम रहमानले ६४ रनको सानदार इनिङ्स खेले । उनले ३९ बलमा ९ चौका र २ छक्काको मद्दतमा ६४ रनको अर्धशतकीय योगदान दिएका हुन् । अलराउण्ड प्रदर्शन गरेका रविचन्द्रनले ३९ रनको महत्पपूर्ण नक खेले । इब्राहिक टाकाहासीले २६ रन बनाए । कुवेताका लागि अफिफ फारुख, यासन र सिराज खानले १-१ विकेट लिए ।
अब भोलि हुने नेपाल र जापानबीचको खेल पछि समूह बीको विजेता र उपविजेताको टुङ्गो लाग्ने छ । समूह बीमा दुवै टोलीको समान २-२ अंक रहे पनि नेपाल नेट रन रेटमा अघि भएकाले शीर्ष स्थानमा छ ।