काभ्रे । गत असोज १७ गतेदेखि १८ गतेसम्म परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढी र सुख्खा पहिरोमा परि काभ्रेको रोशी गाउँपालिका र तेमालका दुई महिलाको मृत्यु भएको छ ।
छुट्टा-छुट्टै घटनामा दुई महिलाको मृत्यु भएको हो । रोशी गाउँपालिका-११ भैंसेमा आइतबार अपराह्न सुक्खा पहिरोसँगै खसेको ढुंगाले ठक्कर दिँदा ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । घर नजिकै लुगा धुन गएकी तामाङलाई पहिरोसँगै आएको ठूला ढुंगाले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको कार्कीले बताउनुभयो ।
घटना भएलगत्तै प्रहरीको सहायक निरीक्षकको नेतृत्वमा टोली पुगेर स्थानीयको सहयोगमा शव उद्धार गरी कानुनी प्रक्रिया अघि बढाइएको कार्कीले जानकारी दिनुभयो । त्यसैगरी सोमबार बिहान खेतमा जाने क्रममा रोशी गाउँपालिका-८ तेमालकी करिब ५७ वर्षीया डोल्मो तामाङ बाढीले बगाउँदा मृत्यु भएको छ ।
गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबाका अनुसार डोल्मो तामाङलाई रोशी खोलामा आएको बाढीले बोर्ज्याङ बेसीबाट बगाउँदै पन्थलीबेसीसम्म पुर्याएको हाे । वाइबाका अनुसार अविरल वर्षासँगै रोशी खोलाको बहाव असामान्य रूपमा बढ्दा उक्त घटना भएको हो ।
उनी आइतबार साँझदेखि बेपता भएकोमा साेमबार बिहान रोशी खोला किनारमा उनकाे शव फेला परेको थियो । लगातारको वर्षा र पहिरोका कारण राजमार्गका विभिन्न खण्ड र स्थानीय सडक सञ्जाल समेत प्रभावित बनेका छन् ।
गाउँपालिकाले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै जोखिमयुक्त स्थानहरूमा नजान चेतावनी समेत दिएकाे छ ।