काठमाडौं । हिमालयन वारियर तथा नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले मलेसियाको क्वालालम्पुरमा जारी डब्यूकेएफ कराते सिरिज 'ए'-२०२५ मा ऐतिहासिक सफलता हात पार्दै स्वर्ण पदक जितेकी छन् ।
महिला सिनियर कुमुते ६८ केजीभन्दा माथिको तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै उनले ट्युनिसियाकी मसाक्नी टेस्निमलाई २-० ले पराजित गरेकी हुन् । यससँगै गुरुङले नेपालका लागि पहिलो पटक कराते-वान सिरीज 'ए' मा स्वर्ण जित्ने इतिहास रच्न सफल भएकी छन् ।
एरिकाले सेमिफाइनलमा चेक गणतन्त्रलाई ७-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । प्रशिक्षकका रुपमा कुशल श्रेष्ठ र खेलाडीका रुपमा एरिकाको यो अर्को अन्तर्राष्ट्रिय सफलता हो ।
एसियन गेम्सकी रजत पदक विजेता एरिकाले यसअघि एसियन च्याम्पियनसिपमा रजत पदक जितेर अन्तर्राष्ट्रियस्तरमा स्थापित भइसकेकी छन् । कराते वान प्रिमियर लिगमा कास्य, थाइल्यान्ड ओपन र यूएस ओपनमा स्वर्ण जितेकी एरिका नेपाली करातेकी सबै भन्दा सफल खेलाडी हुन् ।