झाडापखालाले एकै परिवारको तीनको मृत्यु, थप १० प्रभावित

कार्तिक १५, २०८२ |आरएन विश्वास
झाडापखालाले एकै परिवारको तीनको मृत्यु, थप १० प्रभावित

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ लोखरमस्थित सदा बस्तीमा झाडापखालाको प्रकोप देखिएको छ। 

पछिल्लो दुई साताभित्र एउटै परिवारका तीन जनाको मृत्यु समेत भएको छ । स्थानीय बुचन सदाका बुबा, पाँच वर्षीय छोरा र आठ वर्षीया छोरीको झाडापखालाको कारण ज्यान गएको हो । शुक्रबार झाडापखालाबाट गम्भीर बिरामी भएकी बुचनकी छोरीलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्‍याइए पनि अवस्था बिग्रिएपछि अन्यत्र लैजाने क्रममा उनको मृत्यु भएको परिवारजनले जानकारी गराए ।

यता बुचनकी पत्नी पनि हाल झाडापखालाको उपचारका लागि अस्पतालमा भर्ना छिन् । छोरा-छोरीको मृत्यु भएपछि स्थानीय युवाले सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेपछि मात्रै स्वास्थ्यकर्मीहरू बस्ती पुगेका थिए । स्वास्थ्य चौकीको टोलीले बस्तीमा पुगेर झाडापखाला प्रभावित परिवारलाई जिवनजल र आवश्यक औषधी वितरण गरेको छ । 

गाउँमा समस्या देखिए पनि बस्तीबाट जानकारी नआएकाले ढिला थाहा पाएको गाउँपालिकाले जनाएको छ। बुचनको परिवारबाहेक हाल बस्तीका करिब १० जनामा पनि झाडापखालाको लक्षण देखिएको छ । तर बिरामीहरुको स्वाब परिक्षणसहितको काम अझ हुन सकेको छैन ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।